Sunday, December 12, 2010

बुद्धम् शरणम् गच्छामि !!

ओम शान्तिको कामना !!
माटो पानि र बायु तेज रुपको चैतन्य चोला लिइ
जन्मी यो जगमा समस्त जिवमा अनन्य माया दिइ !
हिम्सा काट र मार देखि न निको त्यो मन दुखाइ बसि
वैष्णब मार्ग ग्रहण गरेर श्री तिलक उचो ललाटमा घसी !
शान्ति मन्त्र फिजाई गाउ घरमा श्री ब्रह्म ज्ञानी हुँदै
आत्मा लाई जगाई भक्ति नभमा ब्रम्हाण्ड लाइ छुदै !
पुरा आयु बिताई शान्त मनले कुलमा उज्यालो छरि
श्री नारायणमा समाहित हुदै यो लोक जन्जाल तरि !
जान्छन जो जग छाडी सन्ततिहरु गर्छन् क्षमा याचना
त्यस्ता ज्ञानी मुनि दिबंगत हुदा छ शान्तिको कामना !!

झ्याउरे

छहारीमा रोजी बसें कदमको छाया
सपनीमा ब्युझाउन आइछिन् मेरी माया
परेलीमा लुकी छिपी आँखा खोल्न लाइन्
मन मेरो खोतलेर मेरै गित गाइन्
भन्छिन मेरो ह्रीदयको धड्कन छामी छामी
तिमि र म दुबैजना घुम्न जाउ हामि
भन्दै उठिन् हात तानी डोर्याउन थालिन्
झिटी झाम्टा सबै मेरो अर्कैतिर फालिन्
मैले भने जान्न म ता ठिक छ मेरो घर
बुढेस्काल मा पर्दिन म कसैको नि भर
भन्छिन् उनि जीवनमा एकबारको चोला
मेरो गाउको आगनीमा नाचे कसो होला
खुट्टा मेरो थाकिसक्यो सन्सार नाची नाची
तिम्रो आँगन् न नाचेर राख्या छैन साँची
कति कति नाचें मैले मेरो आजीवन
फर्क, फर्की जाउ अब बुझाएर मन
क्रमश ....

यो दिन्लाई धन्यबाद !

धन्यबाद दिने,धन्यबाद लिने, सबैलाई धन्यवाद !
हावा र पानि, माटो र तेज प्रकाशलाई धन्यबाद !
हजुरबा बुवा हजुरिआमा आमालाई धन्यबाद !
सगरमाथा छ उच्च शिर पृथ्वीलाई धन्यबाद !
डोको र नाम्लो हलो र जुवा पालिलाई धन्यबाद !
बारीको पाटो मलिलो माटो फालिलाई धन्यबाद !
उक्के र जग्ते बुचे र माइलो लाटेलाई धन्यबाद !
भगटे बोट पत्करी खेत घट्ट लाई धन्यबाद !
त्यो काली लेक थाकल घारी बाँस लाई धन्यबाद !
सालको पात भोर्लाको घारी तामालाई धन्यबाद !
मासको बारी बन्सोको भारि भैंसीलाई धन्यबाद !
जुवामा बाँध्न डोर्याउदा भाग्ने गोरुलाई धन्यबाद !
भटमास भर्ने मानु र पाथी बोरालाई धन्यबाद !
बिकासको बिउ बाडेर हिड्ने छोरालाई धन्यबाद !
सकारी ऋण मिलाइदिने लमीलाई धन्यबाद !
बचत्को धान झिकेर लान दिनेलाई धन्यबाद !
स्वास्थ्यको चौकी,भेटनरी,कृषि शाखालाई धन्यबाद !
बारीको आँप टिपेर खादै जानेलाई धन्यबाद !
बिकास गर्ने, लाई आँखा तर्ने दुबैलाई धन्यबाद !
जेटिए नानि र बुढी आमा , सांझलाई धन्यबाद !
समय छोटो छ, यत्ति पढी दिनेलाई धन्यबाद !
बिर्सेछ मलाई भनेर दुख मान्नेलाई धन्यबाद !
धन्यबाद दिने,धन्यबाद लिने, सबैलाई धन्यवाद !
धन्यबाद दिन छुट्टयाई राख्या यो दिन्लाई धन्यबाद !
दिनांक :- धन्यबाद डे, २०१०
भर्जिनिया

Thursday, October 28, 2010

अभियान सफल

यौटा टोलि हिम शिखरको बस्तिमा शुभ्र सेब्य
सानो छोटो मिशन रुपको उच्च आदर्श योग्य
मनमा ठूलो हित बचनको पालना गर्न बोकी
उड्दै गुड्दै पवन गतिले स्वप्न झैँ सास रोकी
सम्भव साहस अनि सफलता चित्तमा छैन गम्य
साह्रै छोटो समय अवधिको कार्य ठूलो अगम्य
चड्दै नाउ भुबरी बिचमा होम्मिइ आज आयो
खोजि उसको अभिगमनको हेतु जे हो उ पायो
बाबा आमा स्वजन कुलका बन्धु बांधब र नाता
मामा काका भगिनी दुहिता साथि संगाती दाता
सबको आशिर्बचन र सहि ज्ञेय निर्देश पाई
भेट्यो आखिर अतुल सफलता कार्य त्यो हात लाइ
सेवा पायो अनि दिनदिनै सम्झना मित्रको त्यो
उसको आफ्नो सुमधुर मनको ब्यक्त उद्गार हो यो
माया तन्तु अति नरम त्यो चित्तमा स्नेह घस्ने
आउदा जादा अनि मन भरि सम्झना तिब्र बस्ने
नासो उसको अब जननीको काखमा छाडी न्यानो
बिन्ति गर्दै सबसँग बिदा माग्छ यो टोलि सानो

महा नवमी २०६७,
चापागाउ

बाजा नौमती भन्छ आज 'दुलही'

सृष्टिको नमुना छ लायक कतै आँखा भरि हेरिने
स्रींगारै रसमा डुबेर रहदा कथासरी लेखिने
उनलाई म भनु कि उर्वशी कतै यौबन र रुप कि धनि
पाउदेखी लिएर बक्ष शिरतक शोभायमानकी तिनी
बस्छिन ति यसरी नुहेर बिचमा लज्जा छ मुस्कानमा
घुम्टो खोलि चियाउदा शशिकिरण पोखिन्छ है शानमा
हासको चाल गरेर ढल्किकन ति हिडछिन झुकाई नयन
हल्का बग्छ पवन नुहाई उनको शरीर गर्दै चयन
बास्ना मगमग चल्छ आभूषणको चम्केर छन छन गरी
मनको भित्र संगाली ढुकढुकी सगै कोइ बस्छ आसन धरी
पृथ्बीमा यदि पूर्णचन्द्र अहिले ओर्लेर आउने भए
झुक्किन्थे कुन हो बधु ? भनि सबै बरसाथ जन्ती गए
बारम्बार मिठो बहन्छ मनमा टुलुक्क हेर्दा पर
जोडले हान्छ मुटु नि तिब्र गतिले मुसुक्क हास्छन बर
एक्लो प्राणि म नै छु लक्ष्य सबको छु घेरिएकी म नै
बाजा नौमती भन्छ आज 'दुलही'काउकूती लाग्ने झनै
बाबा मामु र दाइ ,भाइहरुको देख्छु मलिनो मुहार
सबको भन्छ तथापि भित्रि मनले भेट्टाईहाली जुहार !
जन्मी हुर्किनगै बढें सखी सगै यो काल शैशब बित्यो
आकान्क्ष्या मनमा उठे रहरका वात्सल्यले मन जित्यो
आजैदेखि नया छ जीवन शुरु गरेर सन्सार त्यो
आफ्नै एक सुरम्य चट्ट घरबार हुर्काउने मन छ यो !
बाबाका घरमा छ स्नेह भरिलो सम्झन्छु आजीवन
बिन्ति गर्छु बिदा म माग्छु शुभ यो मुहुर्त रोजिकन
देबी देब गरुन सदैब घरको रक्षा, फुलुन माइती
गाउको र छिमेकीको पनि खवर पाइरहुं श्री इति

Wednesday, October 20, 2010

.....आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज

बर्सौ कोलाहल समय संगै दीर्घ कालीन साँझ

खेप्दै खप्दै भुबरी बिचमा मुन्टीई युद्ध माझ

कालो बादल गहन घन घटा फाली च्यापेर राज

नौलो सेतो शुभ सगुन लि उठ्छ काठ्मान्डु आज !



इर्श्या बाधा लुट फुट झगडा बाँधी पोको कुनामा

रातो टिका जऊ तिल जमरा धूप बत्ति दुनामा

बाल्दै उठ्दै शुभ बचन मुरी बोकी ल्याउने जहाज

माथि हेर कति कति उडी आउँछ काठ्मान्डु आज !



हेरौ भोगौ गृह कलह पछिको देशमा विद्यमान

नौलो ताजा प्रण र प्रविधिको आत्म संयम र मान

बाडौ एकापस बीच घुमी रास्ट्रको काम काज

भन्दै गन्दै दिन हरु कुरी बस्छ काठ्मान्डु आज !


ज्ञाता भ्राता स्वजन गुरुहरु मातृ पितृ जमाता

नेता संचालक हरु सबै देशमा चित्त दाता

आफ्नो आफ्नो रुचिअनुरुपको स्निग्ध सौगात लाज

बोकी टिका लिन दिन भनि हिड्छ काठ्मान्डु आज !


मानौ सबले प्रण यहि गरौ स्वार्थ छोडी झमेला

भाइचारा हित बचन सिकौ छोपी आउदैछ बेला

बूढा पाका हरु संग गइ बाहु फैलाई ताज

झुक्दै आशिर्बचन लिन भनि उठ्छ काठ्मान्डु आज

Wednesday, September 29, 2010

तीन मुक्त्तक

बाउ भन्दा छोरो जान्ने

स्वास्नी भन्या कैल्यै न मान्ने

बाउ छोराको भट्टी मै भेट

एक से एक छन दाउ हान्ने

शिक्षक भन्छ चुरोट न खाउ

आफु खोज्छ बाथरुममा दाउ

दिन अर्ति सबै जान्ने

सन्सार यो कम्पास बिनाको नाउ


न्यायालयमा छन् न्यायको मूर्ति

न्याय गर्छु भनि लाउछन फूर्ति

भन्छन काम्लो गाईले खायो

माग्दै बस्छन एक चुट्की सुर्ती

सम्झना मा मात्र छ अब दशैँ !

पैले पैले स्कूल पढ्दा पन्ध्र दिने बन्द

नया जुत्ता नया लुगा मनमा चल्थ्यो द्वन्द

मासु च्युरा मामा घरको जमरा र टिका

स र र र पिंग को सर्को हावा मन्द मन्द !



लह लह धानका बाला चंगा अकासिदै

चाड बस्थ्यो अनुभूति मनमा पर्व यो गासिदै

सोह्र सराद लाग्यो भन्दै घरमा हजुर आमा

सालको पात,रातो माटो गएछ अब मासिदै !



मगमग बास्ना चल्ने उसिनेको धान

घरै पिच्छे ढिकी चल्थ्यो च्युरा कुट्ने घान

आंगनैमा छाडा हुन्थ्यो यौटा घोर्ले खसी

माइली कान्छी ठिक्क पर्थे तोरी पेल्न जान !



इतिहास भयो अब घोर्ले खसी, भाले

दशैँ तिम्रो फर्कदैन भन्नु भयो बाले

दसैँ भन्नु दसा हो रे पैसा न हुनेलाई

बढा घरमा दशैँ देखि जिल्ल पर्छ काले

नेपाल यो बन्छ है

नेपालीहरुको मुटु र धड़कन् नेपाल नै बन्छ कि ?
पुर्खाको इतिहास जाँगर लुटी समुन्नतै हुन्छ कि ?

हेरौ एक बिहानी त्यो हिमचुली चुमेर नौलो दिन
पक्कै आउछ बन्छ स्वर्ग सरि यो आशा न गर्नु किन ?

गोर्खालीहरुको छ नाम रणमा छैनन् पछाडी कुनै
गाउ बेशी गरेर मात्रिभूमिमा गर्छन परिश्रम उनै

धाइ देश विदेश जोखिम पनि खप्दै सबै क्षेत्रमा
इमान्दार कति परिश्रमी इ छन् विदेशीका नेत्रमा

हाम्रै बुध्द ति हुन् सिता पनि उनै कर्णाली हाम्रै भयो
देशका कर्मठ बुद्धिजीवी हरुको मन पग्लिए भै गयो

होस्टेमा एक स्वर मिलाई सबले बिकासको यज्ञमा
हातमा हात मिलाई बढ्नुछ अघि विस्वास् गरी भाग्यमा

छाडौ त्यो कु-कथा ब्यथा करुणका पैले बितेका कुरा
लागौ एक भएर देश हितमा बल् बाँधी सब्ले पुरा

इच्छा राखी भविष्यमा कि एकदिन् फूल्ला अवस्यै भनि
मेरो देश भनेर गर्ब ति गरुन जस्तै विपत्मा पनि

छोडी देश जति पलायन भए भन्दै "अमिलो रस "
देखाउँ तिनलाई हेर ल भनि के चल्नु तिनको बश

नीतिमाथि भूकम्प आंधी पहिरो क्रान्ति सधै हुन्छ रे
नेपालि हरु नै जुटी दृढ रहे नेपाल यो बन्छ रे

फर्कू फर्कु विदेशबाट म घरै यो मन सधै भन्छ है
काँधमा काँध दिएर पत्थर थपे नेपाल यो बन्छ है

भर्गीनिया,सेप्टेम्बर,२०१०

Saturday, September 18, 2010

यसो गरे कसो होला !

ठिकठाक् गर्नु क्रियाकलाप दिनदिन् चाईदैन जिम्नासियम
सोफा छाडी उठी जुरुक्क हिडने कडा बनाउनु नियम् !
ढोका खोलि पवन खुला प्रकृतिको गर्दै गरि सेवन
ताजा राख्नु शरीर रोग विपरीत् प्रसन्न पारि मन !
टिभी मोभी र फेस-बुक इतिको सिमित गर्दै प्रयोग
आवश्यक जति पर्छ अध्ययनकै लागि गरे भाग्छ रोग !
आस्था ईश प्रति लगाई मनमा छोडेर आडम्बर
छोटो चालचलन चुटुक्क गरिदा समाजको के डर !
आफ्नो हुन्छ सदैब दैनिकी सधै कर्तब्य दिन्का दिन
गर्ने गर्नु लगाई ध्यान रुचिले त्यो बन्छ योग्यै लिन !
मध्यम्मार्ग सुगम् छ गर्नु अबलम्बन् छाडी टुप्पो र छेउ
ज्यादा लोभ न गर्नु केहि चिजमा पुगेपछि छोडी देउ !
मिठो बोलि बचन् कुरा बहसमा सुन्दै अरुको कुरा
तर्कैसंगतले रिझाई मनमा टुंगेर जावस पुरा !
मन्को द्वन्द लडाई झर र झगडा यी कैची हुन् आयुका
तापको उच्च तनाब चाप् रगतको दुस्मन् भए स्नायुका !
पालन् गर्नु सदैब अल्छी न गरी कडा नियम् दाँतको
मेरो बिन्ति सबै युवा युबतिमा गम्भीर यो बातको !

Tuesday, September 7, 2010

हो रे, थियो रे !

एकादेशमा यौटा थियो 'नेपाल' भन्ने देश

बसोबास गर्नेजति सबै थिए बेश

सिधा साधा बोलि चाली हिमाली हो भेष

निष्ठा कर्म आस्था धर्म फुलाउथ्यो केश !



हुने गर्थे राजा पनि गर्दैनथे गेश

प्रयोग गर्थे बिबेक नै गोटी चाली चेस

देश थियो उन्नतिमा प्रजा बुन्थे खेस

नेता धेरै जन्मेपछि लागेछ रे ठेस !



गर्दारेछन प्रत्येकले स्वार्थि बूँदा पेश

बदमास्ले सधैभरी जित्दोरेछ रेश

राज्य फुटी टुक्रीएछ तराइ र मधेश

आज जनता सबै भए विदेशीले लेश !

त्यसैले,

गण तन्त्र रणतन्त्र रह्यो मन्त्र मूल

सातु मुछ्दै काम्लोमाथि गरे ठुलो भूल

अब कैल्यै फुल्नेछैन नेपालीको फूल

आसु चुहाउ कि त रमाउ, कि बिदेसमै डुल !

फेसबुकमा फ्रेस लुक

आउ तिमि पनि आउ
यो काखे समुद्रमा डुबुल्की मार्न,
उदयाचल देखि न अस्ताए सम्म
स्वभाव अनुकुल दिमागको शेखी झार्न,


यहा तिमि के बन्न सक्दैनौ र
छर पस्ट ग्यान विज्ञानमा किरा पार्न ,
बिहानीको किरण देखि स्वमूर्त रुपमा
न हिचकिचाउ शब्द ज्ञानको जरो तिखार्न

जाने बुझे सम्मको झटारोले हान्दै
आफ्नो किल्ला बार्न
सहभागी लाई पछाडी लखेट्दै
नौलो प्रयोगले झिंगे माछा तार्न

आउ तिमि पनि आउ
यो काखे समुद्रमा डुबुल्की मार्न
आउ तिमि पनि आउ
फेसबुकको भुँडी दार्न

मातृ-पितृ वियोग

माता मेरी थिइन् अति गुणवती हे दैब के जाल गर्यौ
तिम्रो पुस्तकमा थिएन अरु जो काख् मेरो न्यानो हर्यौ!
दिन्छौ नि दिन ता अगाध रसिलो वात्सल्य नौनी सरी
लिन्छौ खोसी रुवाइ हासु कहिले खोलेर दिल बेसरी!
मेरा हात र पाउ खोइ अहिले सक्षम भई काखमा
खेल्दै खाइ निदाई मस्त न हुदै फाली दियौ राखमा!
के जानौ कसरी तिमि किन यति हुदै गयौ निस्ठुरी
तिम्रो श्रीस्र्टि रदृस्टी योअति कडा सहू म भ्रम्मा परी!
थान्ग्नावाट उठेर पेट रितिदा स्तन मागी बस्थे रुदै
काख्माबोकी उठाई अमृतमिठो को दिन्छ मुख्मा सधै!
मेरो भूल भएछ के कति यहा निर्बाह गर्छु तन
निर्दोषी मनको लिएर अवसर के बिस्व हाक्छौ भन!
सन्सार श्रीस्टि गरेर रम्य रचना दिएँ भनि भन्द थ्यौ
फुल्दै फूल बनेर फक्रि न सकी फेदमा छुरी हान्दछौ!
गर्ने छैन कदापी भूल म पछी जाल्मा उनैकै सरी
मान्ने छैन नियम र कानुन पनि बिस्वास तिम्रो गरी!
निष्ठूरी यति छौ कि के गरू बयान् न पुग्दै मैना दिन
बाबालाई डुबाई शोक नदीमा साथमा उठायौ किन?
छोरो हुन्छ ठुलो उ थाम्छ घरबार भन्दै पटुकी कसी
कोदाली र कुटो चलाई दुध भात् ख्वाउनु भो आँगन बसी!
हात्खुट्टा कलिला थिए उस बखत् सकिन सेवा दिन
पालो पर्खी बसें चुकाउन भनि पितृत्वको त्यो रिन!
तिम्रो सामु म भन्न सक्छु उभिई निर्भिक भई हेर लौ
आफ्नै सन्तति माथि अप्रिय गरी के न्याय पो गर्दछौ!
तिम्रो मण्डलमा छ न्याय भरने निस्पक्ष निर्क्यौल गरि
न्यायाधिश कुनै म भेटुँ कि गई अपील फारम भरि!
सम्शोधन् पनि गर्नु पर्छ कहिले काही जगतको स्थिति
बज्रैपात ठुलो दिइ यति कडा चल्दैन तिम्रो रिति!
कत्ति छाती पिटुं अगाडी उभीइ छौ मूक दर्शक तिमि
लात्तीले भुइमा बजारी अहिले थर्काई दिउ कि जिमी!
अन्नै पानि बिना म बस्छु ध्र र ना तिम्रो अगाडी यहा
तिम्रा नेत्र तीनै खुलाउन सके कि न्याय पाउला त्यहा!
यसपाली जति दण्ड भोग्न मकनै दिने प्रतिज्ञा लियौ
ठुलो घात गर्यौ नि हे! रचयिता यो दुक्ख फेरी न द्यौ!
आँशु यो म खसाली व्यग्र मनले सास्टांग बिन्ति छ छेउ
पाउ पर्छु म भन्छु फेरी तिमीलाई यो दुक्ख कैल्यै न देउ

Sunday, August 22, 2010

घुम्न जाउँ चापागाउँ !!!

काठमाण्डौ छ सुरम्य त्यो अति गहन घुईचो मटरकारको

पाटन भक्तपुरै छ तीन नगरी बिच्मा ठिमी हारको

फर्पिंग दक्षिण काली किर्तिपुरको चोभार डाँडा सरी

छेउछाउमा अरु छन् नि दक्षिण पटि सिस्नेरी गोदावरी



बाग्देबी ति सरस्वति अलि परै छिमेकीका सृस्टिमा

लेलेमा बसी उत्तरै मुख गरि हेर्छिन् हिमाल् दृष्टिमा

ब्रिन्दाबन बनको नजीकपनको आनन्द सेवन गरि

चापागाउ अंगाली बस्छ बहुरंग पेशा अनेकौ थरि



जाउलाखेल लगन र सात थरिको बाटो खुली कारको

मेरो कर्म भुमि बन्यो कति पटक बाँझो खुमलटारको

बज्रै बारहि नेर सानु नगरी अपार बाहुल्यको

व्यापारीहरु हिड्दछन् यबनिका बोक्दै बहुमुल्यको




खुर्सानी र छ्वाली धान कहिले बिस्कुन सुकाउने थलो

झ्यालमा टाँगी उनेर माल्यसरिको प्रयोग गर्छन् खलो

बाटोमा रमिता कति पटक ता नासपाती काँक्रो टुसा

च्याउ लप्सी खुवा भरेर खरपन् बोकी न खुल्दै उषा


आवत् जावत को छ केन्द्र पनि त्यो दक्षिण भेग् जोडने

यस्तो बस्ति छ हेर रम्य नगरी सम्बन्ध झन् गोडने

बासिन्दा हरु गाउँका मृदु वचन् बोल्छन् अति प्यारको

जत्ति छन् हँसिला खुसि र रसिला बस्ति अनुसारको
घुम्दै मन्दिर हेरी शान्त उपवन् दर्शन गरि देबीको

कसको मन् न रमाउला घुमिफिरी आनन्दबन सेविको

छाडौ गर्न कुरा न ढाँटि कन लौ सौहार्द्र भर्छन् जन

ठुला छन् भवनै वरी परि सबै मन् चोरि लिन्छन् झन

Sunday, August 8, 2010

ये दुनिया रे दुनिया !!

दुनिया खुशिमे आँख मूद्के
गमके सिमाना करते है पार
चक्र बराबर घुमते है दोनो
गम और खुशिया बेशुमार !
एक दिन लौटके आती है गम
हाल टटोलती फिर उनके द्वार
भूल जाते है वो दिन फिर
रहते है मानकर अपनी हार !
इसलिए,
कहता हुं साजन बाँट लो अपनी
खुशियाँ सबसे, उनकी थामे गम
समतामे समाई हुइ है सागर
सोच लो वैसे हि रह सके हम !

लघु कथा

एकादेशको यौटा बस्ति
तिर्खालाग्यो पानि खोजे
बाटामुनी पधेरो रेछ
उत्सुकताबस घरै रोजे
ढोका खोलिन हासेर बोलिन्
एक्लै रेछिन भनि ठाने
खेल्दै थियो मनमा कुरा
भित्रबाट निस्क्यो होजे !
* * *
कता कता बादललाई
हावाको झोकाले !
हाने झैँ देखिन्थ्यो
पानीको फोकाले !
लत्रेको चुदरी बेर्दै,
लामो सास फेर्दै ,
आभास दिन्थीन्
प्रताडित भएझै !
द्रौपदीको हालतमा
शकुनीको धोकाले !

Sunday, July 25, 2010

गुरु नमस्कार!

श्रद्धेय स्वाभिमानी प्रगति पथमा देखिने अग्रगामी !
बिद्या पारङ्गत उचित ब्यबहार शास्त्रको अर्थ कामि !
मायालु स्नेह्दायी अनुजहरुमा योग्य निर्देश दाता !
निष्ठा आस्था जर अजरहरुमा दृस्टी भेदको सुज्ञाता !
उच्चासन्को महिमा अविरल युक्त बिद्या अलंकृत !
ठाडोमस्तक पुजित गुणहरुको मान्यताप्राप्त सु-नृत !
यस्ता सेवी गुरुजन हरु छात्रका हुन् अलंकार !
फेरी फेरी गुरु चरणमा गर्दछु म नमस्कार !

मूकदर्शक

इच्छा सबै मरिसके जिउदो लास बाच्दै छु म
मन त अब रित्तिसक्यो यौटा आश साच्दै छु म
आर्य घाटमा सुताएको सिङ्गो देश मेरो
फर्काउने आशै आशमा घाटे बैद्य जाच्दै छु म
* * *
होडबाजी गर्दैछन रे सम्पत्तिमा छोराहरु
झट्केला नि निस्किए रे पहिला काँ थे मोराहरु
हल्ला खल्ला छापिएछ घाट लग्या खवर
कात्रो बिक्ने खुसहालिमा रमाउदैछन् गोराहरु
* * *
क्रिया बस्ने कुन ठाउ हो बल्खु बालुवाटार
अड्डी लिदै दुवै थरि मान्या छैनन् हार
यौटा भागमा काट्टो पार्दा चित्त बराबरी
एक्लो दर्शक हैन रेछु साथै रेछन सब सन्सार

Wednesday, July 7, 2010

बुढेसकाल

हातखुट्टा थरथर छ लट्ठी एक भर आयो बुढेसकाल यो
लागे अङ्ग प्रत्यंग झोलिन खुबै चुहाउछ मुख राल त्यो
प्रातकाल कति मनोहर हुँदै उठ्ने रहर वैंशको
लागे थन्किन अल्छी लाग्छ अब ता बितेछ दिन ऐशको
छोरा नातिहरु त छन् घरभरि के गर्नु छैनन् तर !
ताल्चा मार्नु परेन कुर्छ घर यो! भनेर पर्छन भर
मन्मा खेल्छ कुरा कसोरी घरवार धान्छन् यी लालाहरु
सोच्दै खाट छ हात माथि तकिया टाँसेर गालाहरु
सन्सार खुम्चिन गो भयो अब सँघार पानि पँधेरो पनि
चंद्रैलोक समान दूर छ कति भेटिन्न पाइला गनि
बेला आइसक्यो कठैबरी ! कति सन्सार हाँक्नेहरु
टिक्दैनन् अनि जानु पर्छ एक दिन त्यो छैन बाँकी बरु
लामो त्यो बयको छ कत्ति अनुभब् माटोमा मिल्ने भयो
भन्नु बाकि छ सब् सुनाउनु पनि तृष्णा मनैमा रह्यो
यस्तै यो रित हो समस्त जिवको भन्दै बुझाउदा मन
अझै बाच्छु कति भनेर मन यो आश्मा रमाउने झन
कस्तो हुन्छ बुढेसकाल सबको मनमा गुनी सोच लौ
तिम्रो यत्न प्रयत्न केहि छ फरक भने तिमी भिन्न छौ

Wednesday, June 23, 2010

मौरी

सोचौं एकछिनलाई यो जीव यदी अस्तित्वमा छैन रे
बारुला कमिला र पुष्प मधुमा दाजिन्न , हो हैन रे
यसको स्वार्थ पनि छ केहि हदमा निर्बाह गर्नु कुल
संझौ तुच्छ छ त्यो भलाइ जतिको गर्नेछ डुल्दै फुल
आफु मेटिन गै परिश्रम गरि सुख्खा कुसुमको रस
जम्मा गर्छ सदैब भर्छ गुंडमा राख्दैन आफ्नो बश
आउँछन् हुलमा ति बस्न फूलमा फाइदा मलाइ हुने
मादाको भ्रुणमा लगेर नरको सिंचित परागले छुने
यो चाहिन्छ अवश्य खाद्य फलफूल उत्कृष्ठ बालि लिन
मेरा मित्र यिनै सघाउन भनि गर्छन मदत दिनदिन
गर्दैनन् रिसराग हामीसंग ति सोझा र लाटा बनि
आफ्नो कार्य क्रियाकलाप संग नै रमाई पल्पल् गनि
गर्दै काम निरन्तरै सहजमा शिक्षा मलाइ दिंदै
कस्तो व्यस्त बनेर फूलहरुमा गोपेर सूड़ रस लिदै
हेर्छु नाच र गान व्यस्त ति हुँदा फुलबारी मेरो पसी
मीठो दिन्छ मधु म खान्छु दिनहुं लेख्छु कबिता बसी

Wednesday, June 9, 2010

भ्रम

भ्रम
इशारा पाउछु कि भन्ने आशमा बसिरहें
हिम्मत बांधेर कम्मर कसिरहें
निष्ठुरी छ्यौ भन्ने मनमा न लाग्दै
सीमा नाघ्यो, तलतलै खसिरहें

बदलामा तिमीले धोका पाउदा
शब्दमाधुर्य घसिरहें
दिशाबोध भयो फर्कीआयौ
पलपलमा ब्यङ्ग बाणले डसीरहें

चाहना तिम्रो घट्दै जांदा
मनको अभिलाषा धसिरहें
यो जीवन त यस्तै बित्यो
तिम्रै जालमा फसिरहें

Wednesday, May 26, 2010

याद याना हल:

याद याना हल: याद याना हल:
मचाबिल्या गुच्चा म्हिटिउ
याद याना हल:
आख ब्वंगु, स्कुले वंगु
पासा नाप विसु वंगु
बसी खुया, उखे च्वंगु
याद याना हल:
मैचा नाप पौ न्यानागु
चाना हैगु भटिमाली ज्वंगु
स्विमिंग यात छाउनी वंगु
याद याना हल:
फेल जुइगु सबजेक्त प्यंगु
माँ न बोबिया पाजुछें वंगु
छें ल्या वया सुन्क च्वंगु
मास्टर भाजुं न्ह्यापं ज्वंगु
याद याना हल:

आफै गरुँ आंट कि ?

चिन्ता यो छ मलाई मान्यबर हो बढ्दैछ झन् झन् कति
देशको हाल खवर खस्यो तल अझै सुध्रिन्छ भन्दा जति !
आफ्नो मान र शान हेर बिपरित नेता पसे स्वार्थमा
इच्छा छैन रहेछ माथि उठने पद ओकटे व्यर्थमा
पृथबिले जसरि परिश्रम गरि दिएर नासो गए
दर सन्तान फुटेर शासन गरि लुटेर खांदा भए
पार्टीको बलमा कपट र छलमा सोझ्याई आफ्नो दुनो
तानतान गरेर देश गरिमा पार्दैछन झन्झन् झिनो
यस्तै हो त स्थिति संधै भरि हुने देशको कुचाला हरे
नामोनाम निशान मेटिन गई के होला देशमा भरे
यौटा फुल फुट्यो त के भनु भने सिंगै जहाजै डुबी
नेपालै न रहे म हुन्छु कसरि देखिन्छ मेरो खुबी
कोहि सक्षम कोटी कोटी जनमा यौटा त पाइन्छ कि ?
हात खुट्टा अब ता शिथिल भई सके आफै गरुँ आंट कि ?

यौटा *ड्रोंन को खाचो छ !

फोहोर भयो राजनीति
ये! देशको मह काट्नेहरु !!
कति बक्छौ मीठो झूट
ये! स्वार्थ संग देश साट्ने हरु !!
मरिच चपाएर फूक कि
धुवा लाएर हम्क,
यौटा ड्रोंन को खाँचो छ
लक्ष्य भेदन गर्न
ये! जनतालाई ढाट्नेहरु !!
अब त! सावधान होउ
नकाब त्यो फालेर,
ये! आदर्श छाटनेहरु !!
छोरा नातिको भबिष्य हेर,
तिम्रा पनि त छन् रे
ये!देशका सम्पत्ति वाटनेहरु !!
कोहि न कोहि त निस्कनै पर्यो
आम जनताबाट व्यूह फोर्न,
ये! लौन समर्थवान डाटनेहरु !!
यौटा ड्रोंन को खाँचो छ
लक्ष्य भेदन गर्न
ये! जनतालाई ढाट्नेहरु !!
*An extremely powerful projectile weapon

धर्म र कर्मको मर्म

मनले मेरो खोजेर हिंड्छ देवत्व कस्तो हुन्छ ?
तनले मेरो रोजेर भन्छ आत्मालाई सुनाउ, सुन्छ !
कल्पनाभरि चुर्लम्म डुब्ने लोकोक्ति संस्कार
कर्म पो हो कि धर्मले बन्छ दुइटामा यौटा कुन्छ ?

न खनि बाटो भिरमा गाडी गुडाउन पर्दैन
न कोरी रेखा धर्मले पैला कर्म त्यो सर्दैन
धर्मको अर्थ न खोजौं व्यर्थ सद्बुद्धि सदाचार
पिंजडा भित्र गरेमा कैद कर्म त्यो मर्दैन

खराब जति त्यागेर बस्दा कर्मको बाटोमा
खोजेर हिड्न पर्ने नै छैन धर्मको साटोमा
छोपेर आँखा डोर्याई दिन्छ बल गर्नु पर्दैन
बिस्वास गर्नु मर्म त्यो बुझ्नु ग्रहण को टाटोमा

Tuesday, May 18, 2010

आमा

तिमीले भन्दा यईया यईया मैले भने आमा
कति खप्यौ रात गन्यौ कति पर्यो धामा
सात बर्षकी मात्र थिएँ पराइ घर को आँगन
उफ्री नाच्ने मन थियो लगाएरै जामा

गएँ घर भएँ पर छुटे माइती सबै
बुझ्न थालें अलि अलि तिम्रो मनको भाषा
काख भर्ने आशा तिम्रो रेछ कति चाडै
आफु जस्तै बनाउने आमा यौटी खासा

खाउँ खाउँ लाउँ लाउँ भन्ने उमेरैमा
भोग्न पर्ने रेछ दुख सन्सार चलाउन
बल्ल मैले थाहा पाएँ आमा कस्तो हुन्छ
कति रहर बलि चढे मिठो यौटा फलाउन

आज मेरो छाती हेर सगरमाथा झुक्छ
आमा शब्द दाइजो पाउदा कति छु म दंग
को छ ठुलो संसारमा जननीको माथि?
आमा-दिनमा यौटा प्रस्न राख्छु सबैसंग

देवपिता

इस संसारमे इक दो हि होते है
जो केवल पुण्य फल बोते है
शुभ कर्म छोड़कर कभी वो न सोते है
मनमे धारण कर उनको हम रोते है

यात्रा पथ उनका है सुगम सदा बहार
टूट न सकता कभी मनका अठोट अपार
अविरल शोभित रहे वो दुखियोको गलेमे हार
जगदीश करे सार्थक,मन्जिल उनके बारम्बार

सफल रहे हर पल जीवनमे उनका
ब्यक्त करू मै कैसे, ये उदगार है मनका
कभी न रहे कमि बर्चस्व मे,उसके उपबनका
बनि रहे उपर आस्था एबम् श्रद्धा बहुजनका
बनि रहे आस्था एबम् श्रद्धा बहुजनका

Wednesday, May 12, 2010

सुपारी-सन्दर्भ अनेक

गम्यागम्य समुद्र क्षार तटमा उभिन्छ ठाडो रूख
हाँगा छैन कतै खडा छ सुरिलो खप्दै हुरीको दुख

सातौ वर्ष बिताई सक्षम ठुलो गएर टुप्पातिर
सुत्ला च्यापी तयार फुल्न फुल त्यो लाग्नैछ फल आखिर

टुप्पामा जमरा झपक्क भवरा जस्तो छ गुच्छा फुल
लामो डांठ झुकेर वृक्ष संग त्यो गाँसेर बाँधी पुल

थुंगा त्यो फुलको बढेर सहजै भारले झुकाउदै शिर
चारै तर्फ उबस्छ कन्दनी समान खपेर दैबी पिर

हुर्की दिनदिन त्यो कुसुम पनि ठुलो हुँदै पराग सेचन
प्राकृतिक प्रक्रिया पुरा हुन् गयो बढ्दैछ फल झन् झन

पाक्यो पुष्ट भई बढेर विधिवत आकार गोलो थियो
बोक्रा भित्र कठोर के भनु म खै नाम त सुपारी लियो

त्यसमा दृस्टी दिने मनुस्य जतिले टिपेर जम्मा गरि
बोक्रा फाली सुकाई शोधन गरे प्रयोग नाना थरि

गर्दै पूजन कार्यमा अघि सरि बन्दै गणेशको प्रतिक
बोकी मान र शान त्यो हवनमा,निम्ता पुजामा अधिक

साथीमा पनि मिल्छ पान संग त्यो मुख्शुध्दी भोजन पछी
सैपाटा र बिबाह भोज इतिमा चुरोटलाई साथ दि

कत्तिलाई लगाई तलतल कुलत बानि बिगार्यो सब
सम्झौता पनि गर्न दुष्टसंग यो तत्पर छ नाम्ले अब

हत्या कोहि गराई स्वार्थ उसको गर्नुछ पुरा भनि
जसले दिन्छ सुपारी, मार्छ, उसको रकम पछाडी गनि

मेरो पक्ष बयानको अलि फरक पाठकहरु हो ! छ है
बर्षे बालकसँग देउन मुई सुपारीको भन्छु गै

उसले टांगमुनि लगेर मृदु हात बढाउँछ सामु म मा
त्यसबेला उसको सुपारी मतलब बुझ्दै म गर्छु क्षमा !!

Monday, May 3, 2010

आँशु कति प्रकारका

आंसु हांसो बिरह र ब्यथा दु:ख संकश्ट पीडा !
बस्छन साथै मिलिजुली खुबै गर्नमा ब्यस्त क्रीडा !!
अश्रु बग्दा नयनतलमा भाव हुन्छन बिभिन्न !
ठुलो चोटमा अबिरल गतिले बग्छ अस्रु अभिन्न !!
थोपा थोपा गरिकन बगने अश्रु त्यो दु:खको हो !
चीसो आंखा घरी घरी हुंदै सुक्छ बिछोडमा त्यो !!
सम्झी सम्झी रुन मन गरी बग्छ प्रेमी छुटेमा !
घुक घुक मात्रै भइ न भिजने सम्झना त्यो हटेमा !!
खुसी हांसो अनी लडी बुढी आदिमा अश्रु बग्छ !
कहिले काहीं अती हुन गइे दुस्टले प्राण लग्छ !!
आंसु पोख्ने समुह बिचमा आंसुले आंसु तान्छ !
आंसुको यो बिचलित ब्यथा चित्तमा मौन लान्छ !!
प्युने आंसु पनि जीवनमा देख्न पाइने रहेछ !
ऋणको भारी भैइ थिचिएमा प्युन पर्नेछ हेर !!
कोइ भन्छन ऋण गरी गरी घ्यू र भात् खाइ बस्नु !
कोइ भन्छन उदर भरी भरी साउको लात्मा न फस्नु !!
आशुका यी थरि थरि अनुहार नेत्र का क्षेत्र बाट !
बग्दा हाम्रो मन पनि उदास फर्कदा छोडी घाट !!

Sunday, April 11, 2010

मेरो अक्षरारम्भ

मेरो त्यो ब्रतबन्धको बय थियो उमेर सात बर्षको
मनमा केहि थिएन भाव खुसीको अंकुर उठ्यो हर्षको
गाउ बेसी गरेर अग्रज संगै हातमा हंसीया लिई
गोठालो म गएर काटी दिन ति बित्थे भरोसा दिई
छैटौ बर्ष बितेछ धन्य यसरी गाउमा कटेका दिन
कान्छो लाई पढाउनु अब पर्यो भन्दै उता छिनछिन
आमाको कचकच सुनेर म संगै बुबा तलाई अब
काठमान्डौ गुरुको लगेर घरमा राख्ने तँ पढ्नु सब
त्यो भन्दा पहिले जरुरि अहिले यौटा छ बन्धन खुला
गर्नुपर्छ रिति रिवाज अनि पो मनमा म ढुक्कै हुंला
भन्दै त्यो ब्रतबन्धको पनि कुरा गर्दै तयारि गरि
भर्दै ग्यान अनेक बालमनमा साँच्चै गुरुले सरि
व्याख्या जीवनको गरेर सुरुमा श्रीपंचमिको दिन
अक्षरको पहिलो "क" लेख्नु यसरि सोध्छु पछी लौ चिन
भन्दै यो क्रमले लिएर मुठीमा माटो पिंधेको धुलो
पाटि नाम रहेछ कापी पहिले काठको कलम त्यो ठुलो
गाउका तीन अरु समान बयका साथि बटोली पिंणी
भर्दै लाम लगाई पन्डित बुबा बन्नुभो हाम्रो रिणी
जिल्ला धादिंग गाँउ "मान्खु पहिरे" सन्सार देख्या थलो
बाबा पन्डित बालकृष्ण सबको डुलेर गर्ने भलो
आमा टोप कुमारी गाउ घरमा "पन्डितनी" नामले चिन
रुपाखेती भनेर सम्झ थर त्यो आउदैन सोध्ने दिन

Monday, April 5, 2010

हेर भाई के के कालो

औंसीको रात कालो
कपटिको जात कालो
न्याय बेचेर खल्ती भर्दा
न्यायमूर्तिको नोटको खात कालो


भूकम्पपछि कम्पनको लात कालो
शनिको दशामा लाग्ने साढे सात कालो
नीचताको पराकास्टा कति सम्म
बिस्वास गरिसकेपछिको घात कालो

व्यभिचार मा लाग्नेको बात कालो
स्वार्थ परक राजनीतिको मात कालो
सुपर सेन्टर मा क्यामरा छल्दै
ब्याग भर्नेको लामो हात कालो

Thursday, March 25, 2010

जय श्री राम !

राम राम जय राम म राम
रामको अतुलनीय छ नाम !
शुद्ध पारि मन धोई पखाली
ज्ञान भर्छ मनमा छरी घाम !

भित्र बस्छ मन देह हो खाम
फाली कल्मष खुला गरी धाम !
ग्यान भर्नु मनमा तम नाशी
सम्झी नाम रघुको भब थाम !

आज पुण्य नबमी तिथि छाम
नेत्र बन्द गरी भक्तको लाम !
लागि भित्र पसी मन्दिर मुर्ति
गर्नु दर्शन चढाएर दाम !

Saturday, March 20, 2010

महासागर

छातिभित्र थुपारेर अनगिन्ति माल
बाहिर भने नक्कल पारि देखाउने छाल
उर्ली उर्ली चन्द्रलाई माया गर्न खोज्ने
रहस्य यो बुझ्दिन म के हो तिम्रो चाल

ओकेटर तेस्रो खण्ड प्रिथिबिको थाल
जुहार मोति लुकाउने बनि आफै ढाल
कहिले काही रिसाउदा सुनामीको आशु
भोग्नु पर्ने हामीले नै बन्दा तिमि काल

सम्पन्नता इर्स्या गर्नु, चुहाउनु मात्रै राल
सकिदैन साधनबिना छुन तिम्रो बाल
तिम्रो आफ्नै नियमकानुन अटल बस्ने बानि
टुक्रा टुक्रा पार्न खोजे बनिदिन्छ्यौ ताल

जताततै बेरिएर बुनेकी छ्यौ जाल
लुछाचुडी गर्न खोजे आइलाग्नेछ गाल
तेरो मेरो एती उति भन्दै भोग गर्छन
हरिदैन खोसिदैन सबको आफ्नै खाल

पनदुब्बी जहाज र डुंगा पोत पाल
पेटभित्र छातीमाथि जतासुकै फाल
घोच्नु पोल्नु केहि छैन, छैन रिसराग
संधैभरी ज्युका त्यु छ, उस्तै हुन्छ हाल

पाथी झिक्दा मुरी बन्ने टालियेर प्वाल
कसैले नि गलाउन सक्नेछैन दाल
क्षमता छ बिस्वलाई सधैभरी पाल्ने
कछुवादेखि कार्निभलसम्म सबै तिम्रै लाल

न भै हुन्न हामीलाई तिम्रो छयाल ब्याल
कहिले काही उठ्ने रिस तिमि आफै टाल
यात्रा भरि नानाथरी कल्पना यो कोर्दा
कलम मेरो रोकिदैन भेटौ आर्को साल

Tuesday, March 16, 2010

पिलो

कसैलाई चांडो कसैलाई ढिलो !
एकपल्ट आउछ रे सबैलाई पिलो !
बस्दा खेरि पिंधमा आआअ गर्दै
छाम्दा खेरि फेला पर्ने यौटा तिखो गिलो !

टुप्पो त्यसको दुरुस्तै घोच्ने किलो !
हेर्दा कालो कालो प्रस्टै हुन्छ खिलो!
कुरकुरे बैंसको मुखैमा आउने रेछ !
यो कस्तो नकच्चरो टीलो!

धन्दा न मान सबलाई बाडिन्छ यो बिलो !
निचोर्दा म त भएथे कालो निलो !
यसलाई निचोर्न मुटु न भाको चाहिन्छ भन्छन !
डाक्टरको हातभरी लोपरिन्छ रे पिप्को हिलो !

न पाकी निचोर्नु हुन्न हुनेछ थिलथिलो !
कचलटिदा छरिन्छ जसरि तोरीको रिलो !
त्यसकारण यो सधै आवोस नेतालाई मात्र !
अनी पो टासिनदैनकी कुर्सीमा फिलो !

Friday, March 12, 2010

हेर आयो बसन्त

जाडो सिरसिर त्यो हटेर अब ता मत्थर भयो कोप त्यो
हिउको शान सबै गलेर भूमिमा बिर्साउदै लोप भो
आफ्नो आयु पनि घटेर दिनदिन छोटो हुँदै गो भनि
सुर्ता मानि निशा ति चन्द्र संग गै पोख्छिन गुनासो पनि
लठ्ठी टेकी जसै दिवाकर पनि भर्दै घटेको बल
यत्नैसाथ उठी जुरुक्क नभमा कान्ति फिजाउँछन तल
सुख्खा जर्जर भूमि बन्जर सबै त्यागेर निद्रा गई
बनका पंक्षी पशु चराचर सबै मनमा खुशी जो भई
आयो हेर बसन्त उज्ज्वल अहा! बिर्साउदै त्यो शरद
पाउला बोकी तयार फुल्न भरिलो ब्रिक्षादी झुल्छ्न बृहद
मन हर्छन फूल ति फुलेर बनमा सुबासका अंकुर
भागे दुख्ख सबै अकाल जति जो थिए ति क्षण भंगुर
बर्षा पानि हिउ तुषार शितले जमिन थियो बन्जर
तातो राप लिएर सुर्य संगको बन्दै गयो उर्बर
प्रात कालमहा चराहरु उठी गाउदै खुशीले गित
उड्दै भुर्भुर वारि पारि नभमा खोजेर हिड्छन हित
यस्तै यो छ सुरम्य राज ऋतुको पर्खेर बस्छन सबै
आयो हेर बसन्त उज्ज्वल अति आनन्दायी खुबै

बधाई छ होलीको !!

जान्न जान्न म त खेल्दिन लोला
होलीको जति उछ्रिंखल गोला
रंग पानि बदला भरि नाली
छ्याप्दछं अबुझ भै बनि भोला



पर्व यो मिलनको मन छोला
मात्र सिमित भई रंग झोला
बाट फुस्स झिकदै शिरमाथि
फ्याकी खेल्नु ठिक हो घुमी टोला



छाडी अंकुश लगाम सु-बोला
नालीबाट बलले भरि घोला
लेप्दछ्न निरस भै जनलाई
रुप त्यो कुरूप भै मन रोला



साँच्नु पर्छ सब संस्कृति चोला
रोक्नु पर्छ बिकृति गनी तोला
सोच्नु पर्छ खहरे पनि बाढी
उर्लिंदा कति विध्वंसक होला

प्रणयसूत्रमा बाँधिएपछि

१)
ती हुन्छन दुइटा यस्ता साथि
न खस्छन तल न बस्छन माथि
जोखेर हेर्दा शून्यमा सुइरो
भर्दामा माया जहिले नि पाथी
(२)
यौटै छ आत्मा जुटेर गाडा
नजिकै बस्छन् भएर टाडा
तानेर डोरी बेरेर चंगा
मनभित्र बाँधेर छाडदैनन् छाडा
(३)
आँखा नै बोल्ने मुख ता न खोल्ने
करेलाको झोलमा मिश्री घोल्ने
सम्बन्ध यस्तो लोग्ने र स्वास्नीको
मुटुमा आगो लाग्दा न पोल्ने
(४)
प्रेमी र प्रेमिका हुन् संयुक्त बन्ने
देख्दामा अरुले दुइटा न गन्ने
दूध र पानि झैँ एक ठाउ मिल्दा
न सकियोस छुट्याउन दम्पति भन्ने

अन्न प्राशन

आज तिम्लो माम् ख्वाउने हो मेलो काख्मा आउ
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !
एता उति न चल है माम् छ छालै मीथो
भोलि पल्छी पल्नु पल्छ छिओदब्लु काउ !

तिमि ज्ञानी छानु नानि काख्बात न जाउ
हजुल्बाको मीथो गीत तिमि पनि गाऊ !
आज धेलै को को आउछन छबैले माम् ख्वाउछन्
बिचाल गल धेलई चल्दा लाग्न छक्छ घाउ !

माम खाइ थूलो बनी इछ्कुल पनि धाउ
धे लै पल छोली मेलो भन्छ तिम्लो बाउ !
पलेवा ल भगेला छन् आगन भली हेल
उलिहाल्छ छमाउने न गल है दाउ !

अइले तिमि छालै छानी छबले गल्छन भाऊ
थुली भए पछी तिमि छब्को मान पाउ !
तल हेल बिचाल गल यो छंछाल छ थूलो
तिमीले नै छान्नु पल्छ पाल तल्ने नाउ !

भल्यांग बात छुली आयो बिलालाको माउ
आँ गलेल निल नत्ल अल्को आउछ हाउ !
तिमीलाई था छैन ल जुथो लाख् न हुन्न
चुथेल मुख् कुल्ला गली नाना अल्को लाउ !

आज तिम्लो माम् ख्वाउने हो मेलो काख्मा आउ
हजुल्बाको काख्मा बछी बुबु माम खाउ !

Wednesday, February 17, 2010

भ्यालेन्टाइनका तीन थुंगा

मनभित्र सजाएर सयपत्री साँचेको छु
जन्मदात्री जननीमा चढाउन भाँचेको छु
न बिर्स है साथि तिमि आमाको मुहार
हँसाउने आशा राखी खुसीले म नाचेको छु
~~~~~~~~~~~~~~~~~~~~~~
जन्म भुमि जगाउदै फुटाएर मूल
छातीभित्र खनी जोति फुलाएर फूल
लाली गुरास मात्रिभुको शिरमा सजाउन
आएको छु क्षमा माग्दै बिर्साएर भूल
~~~~~~~~~~~~~~~~~~~~~~
बगलीमा लुकाएर गुलाबको थुंगा
माया रूपी दाबिलोले ले खियाउदै डुंगा
सात समुद्र पारीबाट बाहुपास उठाउदै
भ्यालेंटिन आयो हेर खौरिएर जुँगा
~~~~~~~~~~~~~~~~~~~~

Happy Valentine!!

I remain always as,
you are so much dearly !
I can,t survive without you,
understand clearly !

relationship must be eternal,
methinks sincerely !
should you ever care me not,
my eyes shrink tearly !

you be ever mine o'
you be ever mine !
repeatedly comes each year,
happy valentine !

make it new or renew it,
love me to be fine!
when should one remember,
warmth of thine !

your love sounds like a morning,
drops on the rose !
look at the summer garden,
flourish with a hose !

separated are not ever,
shadow and sun !
welcome! welcome valentine,
i see not you gone !

Friday, February 5, 2010

डि.भी भिसा वामे सर्दा ...

मेरै पल्लो घरको अति मिलन मजाको मगर हो
डि भी पार्यो भन्दै मसंग फुनमा लौ हजुर हो !
खुसि लाग्यो आउ भनिकन म जादा लिन अनि
घरैमा ल्याउछु दुइ दिन बसौला संग भनि
डुली घुम्दै सारा नगर भरिका ति मलहरु
उ छक्कै पर्दैथ्यो सडकमा न देखि ढल हरु
अहो कस्ता राम्रा सडक हरु गाडी भरिएका
न मान्छे भेटिन्छन न पुलिस न गाइ छरिएका
सफा सुग्घर उस्तै चाहुर कति राम्रा दुइ तरफ
फुलेका हुन्छन ति फूलहरु थरिका मिलि हरफ
हजारौ गाडीका लहर हरु ताँती मिलिकनै
कुदेका देखिन्छन तर पनि धुवा छैन अमनै
सडकमा दुइ तर्फी रुख हरु सुरेली गहन छन्
पतिंगर नामैका चिज बिज कहिँ पात छइनंन्
शहरमा खै काहा पसल हरु थापेर बनिया
बसेका छैनन् नि कसरी म किनौं नुन धनिया
शहर टाढा धेरै महलहरु भेट्टाउन भनि
हिंडेरै पैदल ता न चडिकन गाडी पनि अनि
किनी खाउँ भन्दा अलिकति चिउरा पनि त्यहा
न देख्छु नांग्लोमा तिलउरी र केरा छ त कहा
भनि छक्कै पर्दा नजर घुमी खोज्ने चिजहरु
म नेपालि केटो कसरी गुजरान बस्न म गरु
सबै पोका बोकी कहिँ कहिँ कुनामा खडी खडा
शिशाको टल्किने अनि बिजुलीका अक्षर बढा
सजाई राखेका बिबिध परिकार ति हुन भनि
सिसीमा बोतलमा पनि रस भरि पेय रछ नि
त्यो आफै साहु हो तिमीसंग पइसा गनी गनी
यो पोकाको एती हो अनि त सिसिको त्यो उति भनि
उदर्मा तानेरै डलर बिल माग्दै ढुकुटीमा
सिसि पोका फुत्फुत तिमीतिर दिदा प्वाल कटिमा
छिराउ हात् भन्दै चतुरसंग अड्कल गरी गरी
ल खा भंदारेछं मिसिन हरु , हासें मरी मरी
मगरको छोरोले तमसुक लेखाएर घरको
डि भी पार्यो भन्दै अनुभव बतायो नजरको

Tuesday, February 2, 2010

भाग्य बदल्न सकिदैन

बस्थे जंगलमा रमाई कुटीमा भार्या सदाकी प्रिया
दिनमा योग तपादी मन्त्र उनको छ नित्य गर्नु क्रिया
चिन्तन त्यो मनमा लगाई प्रभुको कस्दै पलेटी बसी
ध्यानामग्न थिए अचम्म हुन गो काख्मा मुसा त्यो खसी
हेरे नेत्र उठाई बाज उ परै देखे अति ब्याकुल
भोक्ले चूर रहेछ बाच्न छ कठिन खोस्नेछ गर्दा भुल
घोप्टो पारि कमण्डलु वर खिची छोपेर सानो चर
मारिनु कसरी बचाउछु भनी लिएर आए घर
भार्या ति रिसिकी सुकोमल थिईन कुलमा दयालु अति
छोरी रुप बनाइ पालन गरिन आमाकी खानि कति
मूषिके अब ति दयालु रिसिकी पाएर माया पनि
हुर्किन दिनदिन लौ बढेर सहसा त्यो शुक्ल पक्षे गनी
बालिके अब ता शरीर नरको पाएर मुग्धै थिइन्
यौवन मस्त भयो ठुली पनि भई बिबाहमा मन दिइन्
खोज्दै ज्ञानी गुनी असल वर भनी आराधना सूर्यको
गर्दै राजि गराई याचन गरे ठानी असल बीर्यको
एक्कासी मनमा डराई दुलही भन्छिन कि मातेपिते
खप्नु तेज र ताप राप कसरी के हुन्छ आफै बिते
सुन्दै ति रिसिले ति सूर्य सरिको खोजु कि अर्को वर
भन्दा बादललाई शीतल भनी देखाउछन उ पर
आए बादल ति म योग्य छु भनी उनको पनि दोष लौ
देखिन् ति बधुले थिए घनघटा खुम्च्याईछन आखि भौ
बादलले रिसिलाई नम्र अति भै बल्मा म भन्दा परै
बुज्नुहोस बलबान पवन अति कठिन उखेल्छ मेरो जरै
यस्तै यो क्रमले पवन पनि टर्यो पहाड सार्दै अघि
मुसाको बलमा पहाड बिचरा के टिकदथ्यो लौ हगी
बालिके ति थिइन् त योनी उनको आखिरमा त्यै भयो
ठानीन् भाग्य कति भयो बलबति बिहे मुसैमा गयो
जसको भाग्य छ जे हुनु छ पहिल्यै ललाटमा लेख्छ रे
त्यो को हो त्यसरी हरेक जीवमा लेख्ने कुरा देख्छ रे
पत्याउ न पत्याउ मानब तिमि संसारमा जे छ त्यो
भाग्येको भरमा प्रयास न गरे लेखिएको हुन्छ यो

Saturday, January 30, 2010

पहचान

असमान भिन्नता, बोलि र गोलि
जस्तो कि आज दोहोरिदेन भोलि
बोलीमा अर्थ हुन्छ लुकेको
गोलिमा अनर्थ छ मृत्यु ढुकेको

गोलिमा बस्छ तातो राप
बोलीमा हुन्छ न मेटिने छाप
गोलि र बोलि उस्तै हैन
किन कि गोलि फिर्ता आउदैन


बोलि, तर त्यो कुराबात
सदुपयोगमा शान्तिको सुत्रपात
अर्थको अनर्थमा पश्चाताप
बाद बिबादमा घातई घात

कुविचार व्यभिचारमा बज्रिन्छ लात
मुहानबाट पहिल्याउनु उत्तम जात
बोलीमा छ हिरा मोतीको खात
गोलि र बोलीको फरक, हो दिन र रात

Saturday, January 23, 2010

सरस्वती मया.....

मेरो भाग्य अहो! म देख्छु अब के विणा र पुस्तक लिने !
हाँसको बाहनमा विराजित भई बिद्या मलाई दिने !!
पैलो नाम रहेछ भारती भनि दोस्रो सरस्वोती रे !
रोजिन नम्बर तीनमा कति सरल ति शारदा देबी हे !!
चौथो नाम छ हंसबाहिनी भनी पाचौ जगत्की मुमा !
बागेस्वोरी भनेर नम्बर छ मा सातौ कुमारी उमा !!
बर दिन्छिन सबलाई आठ गनिदा बर्दायिनी हुन् अरे !
बरले मात्र मलाई चित्त न बुझे नौ बुधिदात्री छ रे !!
दस नम्बर उनलाई मन अति पर्यो ति ब्रह्मचारी हुन !
एघारौ उनको छ नाम बुझ लौ ति चंद्रघनटा कन !!
बार्हौ नाम छ हेर सुन्दर अति भुवनकी ति सुन्दरी !
बार्है नाम जो गर्छ कण्ठ मुखमा बस्छिन रे सरस्वती !!

Tuesday, January 19, 2010

सरस्वती बन्दना

भानुको जसरी छटा कमलमा फैलिन्छ शोभा दिइ !
त्यस्तै हार छ शुभ्र, बस्त्र परिधान सेतो सफा टल्किइ !!
त्यो बीणा बरदान उत्सुक दुइ हात्मा छ शोभा कति !
ब्रह्मा बिष्णु र अच्युतादी इशले मस्तक झुकाई अति !!
गर्छन ध्यान मिलेर जो कमलमा बिराज हुन्छिन सधै !
जसको शक्ति अगाडी पाप नरको टिक्दैन क्षण भर कबै !!
यस्ती ति भुबनेस्वरीकन झुकि रक्षा गरि पाउ भनी !
गर्छु याचन जोडी हात दुइ यो सरस्वतिमा म नि !!

Thursday, January 14, 2010

बाल्मिकी र रामायण

सुन्नुहोस अब आज यो उपकथा आदर्श अन्तर्निहित
अल्लारे बयको बिबाहित कुनै ठिटो बिबेकै रहित
डाका उ पहिले भएर लुटपाट गर्दै जिबिका क्रम
मन्मा ध्यान थिएन गर्न उसले सुकर्म भन्ने श्रम
ब्याधा त्यो मृगको र पंछिहरुको हत्या गरी दिनदिन
हिड्दा एक कुनै अपर्झट महा सुनेछ बोलि किन?
मार्छौ बाबु गरेर पाप अरुको ज्यु ज्यान प्यारो हुँदा
भन्दै प्रस्न गरे अगस्त्य मुनिले त्यो बाण हातमा लिदा
मन्मा शोक पसेछ विव्हल हुदै फर्केर घरमा गइ
आमा बाबु र पत्निसाथ उ बिचार, विमर्श गर्ने भइ
दुखैमात्र दिएर मारिकन जीव के राम्रो होला भन
भोग्नुपर्छ अवश्य पाप तिमीले भन्दा रुवायो मन
कस्तो भोग गरेछु मर्न पनि म सक्तिन जाउ कहा
प्रायस्चित्त कुनै म गर्छु अहिले बस्छु समाधि यहा
भन्दै त्यसदिनदेखी फाली धनु बाण बस्यो पलेटी कसी
ध्यान्मा तल्लिन भो शिकारी अब उ जिउमा खरानी घसी
बिते बर्ष कति भएन मनमा पत्तो कहा छु भनी
माटोले पुरियो शरीर उसको ढिस्को धमिरा बनी
देखि वास्तबमा कठोर श्रम त्यो देउता बरुणले जहा
माटो धोई पखाली पुर्ब उपचार गरेर छाडे त्यहा
जीउमा धमिरा र जीव कमिला ढाकेर बस्थे पुरा
बाल्मिकी भनी नाम दिएर उनले स्मरण गराए कुरा
प्रात कालमहा उठेर एकदिन उ नित्य कर्मै तिर
जादा यो घटना त देखिन गयो नदी तमासा निर
जोडी ढुक्कुरका बसेर रुखमा चूचो र गर्धन दली
प्रेमालाप गरेर ब्यस्त ति हुदा भाले खस्यो लौ ढलि
ब्याधा त्यो जसले उठाई तिर त्यो हानेछ गर्दै भुल
देखे यो घटना अपर्झट तिनी मन्मा भए ब्याकुल
एक्कासी मनमा ति बाल्मिकिजिको धिक्कारको भावना
भेदक ढुक्कुरको शिकारिकन ता स्लोक्मा गरे ताडना
के जान्नु कसरी उठेछ मनमा त्यो छन्दको सुर मिलि
ब्रम्है वाक्य पसेछ ज्ञानी ऋषि ति पछी भए बाल्मिकी
नारदबाट सुने कहानी रघुको साथमा थे बादर गण
आदिकाब्य , लिला छ वर्णन त्यहा लेखेछं रामायण
सातै काण्ड र खण्डमा गरी पृथक ति स्लोक पचासै हजार
वर्णन गर्न सफल छ हिन्दु कृति यो, राम्रो छ येस्को बजार!

Saturday, January 9, 2010

श्री स्वस्थानीलाई नमस्कार !

स्वस्थानी नेपालीमा सुन्छौ भने आउनुहोस पुस्पांजलि
पनि नेपालीमै भनौन त!

यं ब्रह्मा ...
जो ब्रह्मा बरुणादी देबहरुले दिब्यै स्तुति गर्दछं
भोलेशंकर श्री पवंसंग मिलि वेदको रिचा पढ़दछं
योगी ध्यान बसेर ति मनमनै खोज्छन कहा छौ भनि
जसको अन्त्य कतै नि देबगणले भेट्दैनन कैल्यै पनि
राजा इन्द्र इ देबका हरघडी स्वर्गीय आराधना
गर्छन, गर्छु म दास मानब पनि हात्जोडी यो बन्दना
उपनयतु .....
हामीलाई कुशल र मङ्गल दिंदै संसारलाई पनि
कालो त्यो नभको गरेर चिरफार दिनको उज्यालो दिइ
पावन सुर्य किरण फिजाई नभमा जागा गराऊ अनि
बर्षा सामयिकी दिदै प्रिथिविमा गराउदै सम्रिधि
देसमा क्लेश कतै नि बाकि न हवस् निडर रहुन सज्जन
सन्तान दीर्घजीवी भएर सुखले धनाड्य होउन जन
तत्रैब गङ्गा ......
गङ्गा छिन ति जहा जुटेर जमुना गोदावरी साथमा
सङ्गम सिन्धु संगै सरस्वती मिलि कथा सुनौ साथमा
कायेन बाचा .....
जे गर्छु मनले शरीर बचनले, बुद्धि र इन्द्रियले
जानी जानी भयो कि भूल पनि त्यो स्वभावबस कार्यले
जे जे गर्छु , गरें न जानीकन लौ आफ्नो न ठानी फल
त्यो जम्मै खुशीले समर्पण गरे , नारायण तिम्रो जल !

$ सन् २०१०$

शताब्दि दुइको बितेर इशवी नौ बर्ष सिध्यो अब !
लाग्दै हुन्छ शुरु छिटै अब नया त्यो बर्ष दसको जब !!
त्यस बेला मनमा समस्त जनमा उब्जिन्छ केहि प्रण !
जीवन के कसरी बितेछ त भनि मनमा गुनी तत्क्षण !!
हेरी केहि पछाडी फर्किन गई राम्रो न राम्रो दुवै !
जम्मा जुट भइ येकापसमहा चलन छ बाड्ने खुबै !!
केहि गल्ति हुनु स्वभाब पनि हो घृणा र इर्श्या अनि !
ठाउमा त्यो उपयोग भएन कि कठै के चित्त बुझ्दा पनि !!
सेवा केहि समाजको हुन न गै व्यर्थै संगाली धन !
लोभी केहि अलिकति पनि भयो होला कि पापी मन !!
आउदो बर्ष अझै छ मन्दी गृहमा संसारमा धेर कही !
आर्थिक शासनको चरित्र कसरी रोज्नु छ मैले यही !!
मिठो बोलि र शैली यो जीवनको गर्दा परिवर्तन !
शाकाहारी तिरै प्रयास रत हुदा सुध्रिन्छ कि यो तन !!
प्राप्ति होस् अविछिन्न शान्ति रचना भरेर खल्तिहरु !
लेउ ज्ञान बिबेक हेर पहिले सच्याई गल्तिहरु !!
देसको त्यो दयनीय हालत पनि सुध्रेर आवोस अब !
मेरो यो सुभकामना छ सबमा रामराज्य फर्की सब !!
मनको स्वच्छ सफा त्यो नैनसुतको सेतो उज्यालो जहा !
आँखा भित्र सगालि बाडछु म सखा,आफन्त बन्धु महा !!

Sunday, January 3, 2010

$2010$ has to say something

शताब्दि दुइको बितेर इशवी नौ बर्ष सिध्यो अब !
लाग्दै हुन्छ शुरु छिटै अब नया त्यो बर्ष दसको जब !!
त्यस बेला मनमा समस्त जनमा उब्जिन्छ केहि प्रण !
जीवन के कसरी बितेछ त भनि मनमा गुनी तत्क्षण !!
हेरी केहि पछाडी फर्किन गई राम्रो न राम्रो दुवै !
जम्मा जुट भइ येकापसमहा चलन छ बाड्ने खुबै !!
केहि गल्ति हुनु स्वभाब पनि हो घृणा र इर्श्या अनि !
ठाउमा त्यो उपयोग भएन कि कठै के चित्त बुझ्दा पनि !!
सेवा केहि समाजको हुन न गै व्यर्थै संगाली धन !
लोभी केहि अलिकति पनि भयो होला कि पापी मन !!
आउदो बर्ष अझै छ मन्दी गृहमा संसारमा धेर कही !
आर्थिक शासनको चरित्र कसरी रोज्नु छ मैले यही !!
मिठो बोलि र शैली यो जीवनको गर्दा परिवर्तन !
शाकाहारी तिरै प्रयास रत हुदा सुध्रिन्छ कि यो तन !!
प्राप्ति होस् अविछिन्न शान्ति रचना भरेर खल्तिहरु !
लेउ ज्ञान बिबेक हेर पहिले सच्याई गल्तिहरु !!
देसको त्यो दयनीय हालत पनि सुध्रेर आवोस अब !
मेरो यो सुभकामना छ सबमा रामराज्य फर्की सब !!
मनको स्वच्छ सफा त्यो नैनसुतको सेतो उज्यालो जहा !
आँखा भित्र सगालि बाडछु म सखा,आफन्त बन्धु महा !!