Saturday, January 14, 2012

भिखारि

सहज थियो गर्भ पिता उनै थिए
गरेर बाचा जननी बुझी लिए
चराचरैको अनुराग हो सब
भुल्यौ कि बाटो भन के गरि अब


बित्यो दसै मास झुकेर गर्भमा
पुरा भयो कर्म ढुकेर मार्गमा
सफा थियो देह रसादिको द्रब
भुल्यौ कि बाटो भन के गरि अब


हुनु थियो लालन पालनादिक
भयो बढे अङ्ग जुटाई तात्विक
खै अक्षरारम्भ र पाठनादिक
भुल्यौ कि बाटो भन के गरि अब


अमूल्य बालापन बाल्यकाल
बितेछ सप्नासरी स्वर्ण थाल
गन्तब्य को मार्ग छुट्यो झकाझक
भुल्यौ कि बाटो भन के गरि अब


यो हाल तिम्रो किन भो कसोगरि
गुरु हराए कि सबै गए मरि
कि भाबि लेखान्तर क्रुर थे सब
भुल्यौ कि बाटो भन के गरि अब


कि भाग्य नै हाबी भएछ कर्ममा
कि कर्मको ख्याल घुमेन मर्ममा
सहि दिशाबोध छुटी गयो जब
भुल्यौ कि बाटो भन के गरि अब


यो भेष तिम्रो घर ब्रह्मचारी
लिएर आशा मनमा बिचारी
माग्दै छहारी घरघर घुम्यौ सब
भुल्यौ कि बाटो भन के गरि अब


मुठी उठाई एक छाक टार्ने
शरीरका सब अरु भोग बार्ने
मस्तिष्कको चिन्तनशील बैभव
भुल्यौ कि बाटो भन के गरि अब


त्यो झुल्कने घाम बिहान पूर्वमा
भरेर उत्साह सच्याउ कर्ममा
बन्नेछ औद्योगिक छात्र गौरब
भुल्यौ कि बाटो भन के गरि अब


समाउ फर्की हतियार यौटा
कुटो कलम कि बनि हेर श्रस्टा
शुरु गरि खेल कहा छ शैशब
भुल्यौ कि बाटो भन के गरि अब

गजेन्द्र मोक्ष

खाँदै मस्त हुँदै घुमी सुख सयल गर्दै तपोबन डुली
बस्थ्यो साथि समेटी मालिक बनि रोज्थे सबैले मुली

बलमा निर्भयको अजङ्ग बलियो शरीर धारी सुंड
शक्ति संचयको छ खानि उसमा गजेन्द्रको हो गुण

मत्ता हात्ती भनेर भन्छन सबै देख्दा बलियो उ नै
निर्धक्कै विचरण गर्यो जलधिमा सोचेन क्यै मनमनै

तिर्खा मेट्नु र उष्णता शरीरको हटाउने मन्तर
गर्मि गृष्म ऋतु जमीन जलमा संधै हुने अन्तर

गर्छु हस्तिनी भोग आज जलमा क्रिडा छ आनन्दको
भन्दै साथ करेणुकासंग गयो चिसो छ जल मंदको

डिलमाथि उभिई उठाई सुंड त्यो आव्हान चित्कारले
बोलायो गजनंदिनी पनि त्यहा हाजिर भईन प्यारले

आलिंगन सुंड ले गरेर तनमा कानमा गर्यो चुम्बन
सारा देह फुकाई तन्तुहरुको जालो हट्यो बन्धन

थामिन भार ठुलो थियो बजनको हल्का भयो पानीले
पाईन प्यार जसै द्रबिभुत भईन सम्भोगमा रानीले

राम्रो फूल गुलाब टिप्न भनि जो इच्छा लिई मनभरी
कांडाको बिपना भुलेर तरुमा झम्टन्छ तृष्णा गरि

त्यस्तै त्यो गजराज लाइ अहिले जलबाट निस्की चर
भोकले आतुर मुख उघारी दुइको मुखमा धर्यो पुच्छर

तान्यो यद्यपि भीमकाय गज त्यो टेवा दिईन रानीले
खुट्टामा अरु आइ चार सुरमा डसे हठी बानीले

छोडेनन् जब ग्राह सब मिलि त्यहा हात्ती भयो निर्बल
ठुलो शान र शक्तिको पतन भो प्रयास त्यो निस्फल

मनमा भन्छ अहो ! म आज जलमा कति भएँ निर्बल
यो मेरो अपमान हो यदि कुनै सोचला जमिनमा बल

मेरो हुन्न कदापि हार जगमा अन्यत्र यस्तो गरि
देउ दर्शन भीमकाय अब यो पर्यो शरणमा हरि !

रोई अश्रु निकाली याचन गर्यो कबुल गर्दै भुल
सुंडले तानी टिप्यो चढाउन भनि असल कमलको फुल

मेरो बिन्ति छ हे बचाउ भगबन यो देह दुखमा फस्यो
भन्दै पुर्ब तरफ उठाई फुल त्यो दुइ हात जोडी बस्यो

यौटा रिति छ देबलोक भरिमा झुकी शरण पर्छ जो
उद्धारण उसको अबश्य छ हुनु कानुन नै भन्छ त्यो

विष्णुले जब यो पुकार सहसा सुने हुँदै तत्पर
कम्प्युटर मनको खिचेर नजिकै ''गुगल'' गरे सत्वर

हात्तिको त रहेन दोष छ कुनै त्यो ग्राह्को पंक्तिमा
पाउनु मोक्ष थियो पुग्यो मिति भने गजेन्द्रको भक्तिमा

प्रादुर्भाव भएर चक्रधरले हातमा सुदर्शन लिए
पानि भित्र डुबेर घांटी चरको च्वाट्टै छिनाली दिए

यौटा काम गजेन्द्र मोक्ष हुन गो आपद हटाए त्यहाँ
अर्को ग्राह जुनी मिटाइ चरको श्राप मुक्त पारे त्यहा

यात्रा स्वर्ग र प्रिथ्बिको घरि घरि गर्नु महंगो छ यो
यौटै मार्ग हिंडेर काम दुइटा गर्नु भनि भन्छ त्यो

हे नेताहरु हो! तसर्थ बुझनु भ्रमण विदेशको हुँदा
लाखौ खर्च बचाउ है भ्रमणमा सोच्दै यहि हो बुँदा