Wednesday, September 29, 2010

सम्झना मा मात्र छ अब दशैँ !

पैले पैले स्कूल पढ्दा पन्ध्र दिने बन्द

नया जुत्ता नया लुगा मनमा चल्थ्यो द्वन्द

मासु च्युरा मामा घरको जमरा र टिका

स र र र पिंग को सर्को हावा मन्द मन्द !



लह लह धानका बाला चंगा अकासिदै

चाड बस्थ्यो अनुभूति मनमा पर्व यो गासिदै

सोह्र सराद लाग्यो भन्दै घरमा हजुर आमा

सालको पात,रातो माटो गएछ अब मासिदै !



मगमग बास्ना चल्ने उसिनेको धान

घरै पिच्छे ढिकी चल्थ्यो च्युरा कुट्ने घान

आंगनैमा छाडा हुन्थ्यो यौटा घोर्ले खसी

माइली कान्छी ठिक्क पर्थे तोरी पेल्न जान !



इतिहास भयो अब घोर्ले खसी, भाले

दशैँ तिम्रो फर्कदैन भन्नु भयो बाले

दसैँ भन्नु दसा हो रे पैसा न हुनेलाई

बढा घरमा दशैँ देखि जिल्ल पर्छ काले

No comments:

Post a Comment