बस्थे जंगलमा रमाई कुटीमा भार्या सदाकी प्रिया
दिनमा योग तपादी मन्त्र उनको छ नित्य गर्नु क्रिया
चिन्तन त्यो मनमा लगाई प्रभुको कस्दै पलेटी बसी
ध्यानामग्न थिए अचम्म हुन गो काख्मा मुसा त्यो खसी
हेरे नेत्र उठाई बाज उ परै देखे अति ब्याकुल
भोक्ले चूर रहेछ बाच्न छ कठिन खोस्नेछ गर्दा भुल
घोप्टो पारि कमण्डलु वर खिची छोपेर सानो चर
मारिनु कसरी बचाउछु भनी लिएर आए घर
भार्या ति रिसिकी सुकोमल थिईन कुलमा दयालु अति
छोरी रुप बनाइ पालन गरिन आमाकी खानि कति
मूषिके अब ति दयालु रिसिकी पाएर माया पनि
हुर्किन दिनदिन लौ बढेर सहसा त्यो शुक्ल पक्षे गनी
बालिके अब ता शरीर नरको पाएर मुग्धै थिइन्
यौवन मस्त भयो ठुली पनि भई बिबाहमा मन दिइन्
खोज्दै ज्ञानी गुनी असल वर भनी आराधना सूर्यको
गर्दै राजि गराई याचन गरे ठानी असल बीर्यको
एक्कासी मनमा डराई दुलही भन्छिन कि मातेपिते
खप्नु तेज र ताप राप कसरी के हुन्छ आफै बिते
सुन्दै ति रिसिले ति सूर्य सरिको खोजु कि अर्को वर
भन्दा बादललाई शीतल भनी देखाउछन उ पर
आए बादल ति म योग्य छु भनी उनको पनि दोष लौ
देखिन् ति बधुले थिए घनघटा खुम्च्याईछन आखि भौ
बादलले रिसिलाई नम्र अति भै बल्मा म भन्दा परै
बुज्नुहोस बलबान पवन अति कठिन उखेल्छ मेरो जरै
यस्तै यो क्रमले पवन पनि टर्यो पहाड सार्दै अघि
मुसाको बलमा पहाड बिचरा के टिकदथ्यो लौ हगी
बालिके ति थिइन् त योनी उनको आखिरमा त्यै भयो
ठानीन् भाग्य कति भयो बलबति बिहे मुसैमा गयो
जसको भाग्य छ जे हुनु छ पहिल्यै ललाटमा लेख्छ रे
त्यो को हो त्यसरी हरेक जीवमा लेख्ने कुरा देख्छ रे
पत्याउ न पत्याउ मानब तिमि संसारमा जे छ त्यो
भाग्येको भरमा प्रयास न गरे लेखिएको हुन्छ यो
No comments:
Post a Comment