काठमाण्डौ छ सुरम्य त्यो अति गहन घुईचो मटरकारको
पाटन भक्तपुरै छ तीन नगरी बिच्मा ठिमी हारको
फर्पिंग दक्षिण काली किर्तिपुरको चोभार डाँडा सरी
छेउछाउमा अरु छन् नि दक्षिण पटि सिस्नेरी गोदावरी
बाग्देबी ति सरस्वति अलि परै छिमेकीका सृस्टिमा
लेलेमा बसी उत्तरै मुख गरि हेर्छिन् हिमाल् दृष्टिमा
ब्रिन्दाबन बनको नजीकपनको आनन्द सेवन गरि
चापागाउ अंगाली बस्छ बहुरंग पेशा अनेकौ थरि
जाउलाखेल लगन र सात थरिको बाटो खुली कारको
मेरो कर्म भुमि बन्यो कति पटक बाँझो खुमलटारको
बज्रै बारहि नेर सानु नगरी अपार बाहुल्यको
व्यापारीहरु हिड्दछन् यबनिका बोक्दै बहुमुल्यको
खुर्सानी र छ्वाली धान कहिले बिस्कुन सुकाउने थलो
झ्यालमा टाँगी उनेर माल्यसरिको प्रयोग गर्छन् खलो
बाटोमा रमिता कति पटक ता नासपाती काँक्रो टुसा
च्याउ लप्सी खुवा भरेर खरपन् बोकी न खुल्दै उषा
आवत् जावत को छ केन्द्र पनि त्यो दक्षिण भेग् जोडने
यस्तो बस्ति छ हेर रम्य नगरी सम्बन्ध झन् गोडने
बासिन्दा हरु गाउँका मृदु वचन् बोल्छन् अति प्यारको
जत्ति छन् हँसिला खुसि र रसिला बस्ति अनुसारको
घुम्दै मन्दिर हेरी शान्त उपवन् दर्शन गरि देबीको
कसको मन् न रमाउला घुमिफिरी आनन्दबन सेविको
छाडौ गर्न कुरा न ढाँटि कन लौ सौहार्द्र भर्छन् जन
ठुला छन् भवनै वरी परि सबै मन् चोरि लिन्छन् झन
No comments:
Post a Comment