Wednesday, September 14, 2011

सन्दर्भ - कुशे औंशीको

by Chacha Bihangam on Monday, August 29, 2011 at 10:02pm
एक दिन फर्कि विदेश छाडी घरमा नेपाल जाने छु म
नेपालि पहिचान बाकि छ गई झनै उजिल्याउ छु म
छटके टोपी लगाई चट्ट शिरमा कछाड भोटो धरि
भोटोमा पटुका कसी कमरमा खुर्पाको ट्याक ट्याक भिरी
बाबा पुस्तक फोई टांड पिंडी मा काम्लो बिछाई बसि
भाका फेरी ति भानुभक्त लयको रामायण भित्रै पसि
कैले दृस्टी फिराइ आगन महा बिस्कुन रुंगे झैँ गरि
बस्नुहुन्छ म भेट्छु पुग्छु घरमा जंघार छेउको तरी
मेरा हात दुइ अगाडी बढदै पाउमा ति खोज्छन छुन
शिर झुक्दै भुइमा ति पाउ दुइमा चड्ने छन् सम्झी गुन
चिरन्जीव ! भनि फिराइ दुइ हात् कैले तँ आइस् भनि
सोध्नु हुन्छ म भन्छु खै त घरमा आमा कता हो त नि
डोकोमा जलको घडा भरि लिई टुप्लुक्क आमा पनि
थाप्लोबाट झिकेर डोरी पिंडी मा डोको समाइदे भनि
भन्नुहुन्छ म सुन्छु बोलि सहसा लम्कंछु गाग्रितिर
भुइमा राखी कठै कति दुख भनि निउरिन्छ मेरो शिर
आँशु झारी तँ फर्किइस् अब न जा भन्दै खुशीले गइ
बाबा नेर तिनै जना गई कुरा गर्नेछौ जम्मा भई
तेरो हाल बिदेशमा कति असल् थियो, बित्यो के गरि
पाइस् दुख कि सुख् भयो कसरी दिन् बिते ल भन हे हरि
सुन्दै प्रस्न म आँट गर्छु मनमा के के बताउ अब
भन्दै सुन्नु हवस् म भन्छु मनको ब्यथा उकेली सब
पाखा गाउ पंधेरी शुध्द जलको भण्डार फलफूलको
साटोमा त त्यहा सबै पसलमा थुप्रि रहेका रुखो
जैले जाउ उही सबै चिज संधै त्यै ठाउमा पाइने
बासि हो कि त हैन जान्नु कसरी पढेर छान्दा हुने
गाडीमै अनि देख्छु मानिस सबै सडक भरि मोटर
कोसौ दूर बसेर धान्नु कसरि टाढा हुने त्यो घर
काम भन्दै घर छाडी भर दिन त्यहा भेटिन्नन् घरमा जन
कामले काँध संधै थिचेर रंहदा भरंग भो यो मन
आफ्नो देस र गाउ बेशी म संधै सम्झी रहन्थे बुबा
चाडबाडमा म कति मिठाइ गुलियो छानेर खान्थें खुवा
आउने छैन त्यहा तिहार र दशैं नया लुगा लाइने
जुत्ता फेरु भने कमाइ जति सब् पेट्रोलमा चाइने
साइलीमाईली को त्यो रोदी घरको मादल बिरानो भयो
बन पाखा खहरे कठैबरी त्यहा सबै सिमंटि रह्यो
मेरो त्यो हँसिया र डाली रुखको नाम्लो र दाम्लो पनि
बर्सौ बर्ष बित्यो म भेट्दिन त्यहा प्रयोग ल्याउ भनि
न्यास्रो लाग्छ सबै यी दौतरी हरु कस्तो बिछोडमा परे
डण्डीब्यो र कपर्दी सब भुलिन गै खेलमा बिचल्ली हरे
जान्छन् सब हुलमा त्यो पर्ब दिनमा जात्रा र मेला भनि
कुण्ड स्नान र लाख बत्ति, नदीमा औंशी र पुर्ने गनि
खै मेरी दिदीलाई तीज र तिहार ल्याउनु पुर्याउनु घर
दरको भाग भनेर डाली भरदै दियो नि कसले भर
दिदीको घरको छ याद मनमा खोपी म खेल्थे गई
ति भान्जा पनि लाहुरे सरि भए भेटै न पाउने भई
देउडा नाच भजन हुने बखतमा खैजेडी मेरो फुट्यो
साउन माघ शुरु हुँदा पनि तरुल् चाकु पिंडालु छुट्यो
धन्यै आज बुबा यी ब्राह्मण यहा बोकेर कुशको बिटा
आएछन् म पनि परें चरणमा टक्र्याउछु यो बर्नभिटा
भन्दै झोली उघारी गफ गरि सकी बट्टा निकाल्दै गएँ
औशिको सपना रहेछ तर त्यो ब्युझी झल्यास्सै भएँ

No comments:

Post a Comment