Wednesday, January 19, 2011

चट्ट गुन्द्रूक साँधी !!

गाउँ पाखा सखिहरु संगै डण्डीब्यो खेली बन्मा
बित्ने जीवन सहज रुपले सम्झदा भित्र मन्मा
पढ्दै खेल्दै गुरुघर गइ काममा ब्यस्त बन्दा
सादा जीवन कति सरल थियो कम्प्युटर टिभी भन्दा !


फर्की हेर्छु छ दसक अघिको दिब्य त्यो काम काज
भन्छु, नातिहरु सब सुनी पर्दछन् छक्क आज
घरका सारा जनहरु उपर बाबुआमा छहारी
खेतीबारी समय समयको चाड बित्थ्यो लघारी !


जुवा गोरु अनि असल हलो बन्चरो मुख्य हूने
गाइ बाख्रा घरभरि भई गोठमा भैसी दूने
पाखा बारी पुगिसरी हुँदा खेतको छैन दुख्ख
कोदो आलु मकई र मुला मासखेती छ मुख्य !


उखु खेति नगद भरने नोकरी छैन काम
लूगा फाटो अनि नुन जिरा किन्न लाइ दिन्छ दाम
गाऊ का घर वरपर छरिई पालि छाना भएका
आँगन जाँतो ढिकी पछि पराल् माच माथि रहेका !

बारी पाखा मलजल थपिने आशमा कोइली गाउछ
मन्सुन् बर्षा ऋतु बद्लिदा जोश तातेर आउछ
डोको नाम्लो घरघर ठडियो भर्न मल् खादी खांदी
खाजा बाड़छिन् घरबुढी खुसीले चट्ट गुन्द्रूक साँधी !

No comments:

Post a Comment