Friday, January 14, 2011

बाल कबिता - भंगेरा

बस्छु झ्यांस र घुस्यान मिसाई
गौथली संगसगै न रिसाई
गाउको घरघरै गरि डेरा
तीन अक्षर छ नाउ भंगेरा !

सानु सानु जिउको छु हलुका
छैन बन्धन कतै म छु फूका
भागि हाल्छु कहिँ लठ्ठी उठाए
खेल्छु बालक संगै न अँठ्याए !


भुर्र भुर्र नभमा उडी चारा
खोज्छु हिंड्छु दिनहुँ भुइँ सारा
देख्छु आँगन भरि छरिएको
पोखी बिस्कुन उठाई रहेको !


भोक प्यास अति नै गरि जाग्छ
बेइमान हरुको डर लाग्छ
चर्न जाउ कि न जाउ नजीकै
देख्दछु घरबुढी पनि ठीकै !


आंट गर्छु अति छिन् ति दयालु
छेउमा गइ बसी बनि चालु
फुर्र फुर्र गरि हेरी खजाना
बढ़दछु अघि निकै टिपी खाना !


पेट सानु त्यसमा पनि पानि
पिउनु पर्छ रसिलो गुण जानी
बच्नु पर्छ कति छन् कति ब्याधा
हुन्छ शोक पिरले जिउ आधा !


गोलि बारुद धराप गुलेली
शत्रु छन् वरिपरी अति झेली
गर्छु तैपनि हितै टिपी कीरा
बालि बोटहरुको बनि हीरा !


रात पर्छ अब दिन् बितिहाल्यो
पेटमा अलिकति परि हाल्यो
बच्नु पर्छ गुंडमा छली आंधी
लोभ छाडी अब बस्छु समाधि !


तीन अक्षर छ नाउ भंगेरा
बाबु हो मकन देउ सहारा
पाठ घोक पिंडी मा बसी हेर्दै
चित्रमा कलमले रंग फेर्दै !

चाचा विहंगम ,
भर्जिनिया, जनवरी १२

No comments:

Post a Comment