Monday, March 19, 2012

श्मसान !

·

हेर्दामा अति उग्र रुप छ सदा कालो कलूटे भुइँ

सन्नाटा छ वरिपरि तर भने उ खान्छ लाश्मा मुइ

दिनको रात शिकार कुर्छ नशिलो दाह्रा उज्याइकन

बस्ने गर्छ नजीक नद्द्य तटमा श्मसान नामको ''डन''

//१//

साथि छन् उसका कुकुर र शिवा कौवा खरानी ठुटा

आँशु प्यूंछ बसेर पर्खी अतिथि संसार भन्दै झुटा

हाड़ मासु नङ्गदेखि रोम शिरको बाकि न राखिकन

खाने गर्छ बसेर नद्द्य तटमा श्मसान नामको ''डन''

//२//

दाउराको खलियो सजाउन जति सक्यो खुशी पार्छ मन्

छातीबाट सबै पचाउछु भनि मुस्लो धुवाँ फयाक्छ झन्

घ्यूको आहुति देउ खान्छु सजिलै गार्हो न मानिकन

भन्दै तत्पर हुन्छ निल्न शब त्यो श्मसान नामको ''डन''

//३//

कालो भस्म निशान माझ मुटुमा व्हार्व्हार डढाई सब

छिन्मा स्वात्त निलेर उग्र उ बनि पर्खन्छ अर्को शब

साथि छैन भए अघोरी उसको बाँडेर खाने तन

कैयौ खाइसक्यो र तैपनि सधै श्मसान भोको ''डन''

//४//

हो प्रेमी पनि लुब्ध संगीत विधा हा हा हु हु क्रन्दन

सुन्ने गर्छ लिएर चाख सबको तानी मुटु स्पन्दन

शुन्यैमा उ रमाई बस्छ निशिमा उजाड उसको धन

खुबी राख्छ पचाउने म छु भनि श्मसान भन्ने ''डन''

//५//

यस्तो क्रुर छ बानि निर्दयी सधै नामले डराउने सबै

देख्दा त्यो छ तथापि भित्र मनमा बेत्ता छ त्यो ज्ञानकै

ज्यादा मोह अहम् श्रीसम्पति सबै हे मूर्ख लोभी नबन्

भन्दै बुद्ध बनेर लोकहितको बाटो समा भन्छ ''डन्''

//६//

उसको ब्यङ्ग बुझेर भित्र मनमा सम्झी बुझी ल्याउदा

व्यर्थै यो बिषयादी मोह भ्रमको डुंगा सधै ख्याउदा

कसको चित्त अघाउला र जहिले झसङ्ग पार्नेछ मन्

आउदा हुन्छ बिलम्ब घाट-पथमा चेताबनी दिन्छ ''डन्''

//७//

No comments:

Post a Comment