Wednesday, October 24, 2012

म्याँ म्याँ गर्दै उसले भन्यो !

जन्मिएँ घरको पिंढी ढिकी संगै जाँतो र टाटनो त्यहाँ
आमा बूढी थिइन् र नत्र त भने मिल्थ्यो र खोले कहाँ

पाठो हुन्छ कि पाठी हुन्छ भन लौ,लौ बाजी राखौ भनि
दिदि संग उ भाई कचकच गरि थापे नि बाजी पनि

दिदि भंदथिइन् म लिन्छु अहिले पेवा सरि पाठी नै
जन्मिन्छे यसपाली भाइ किन हो तँ जिद्दी गर्छस् न गै

भाइ त्यो बिचरा कुरिकन बस्यो पाठो भएमा कहिँ
मेरो इसकुलको छ बाँकी जति फि तिर्नेछु ऐले यहीँ

यस्तो बाद विवाद को बिच महा जन्मे म हु के कता
मेरो लक्ष्य भबिष्य के छ ? उनमा, पाठै भएछु म ता

त्यो घरमा जति मान पुत्रनरको खुशी भई गर्दथे
मेरो जन्म हुदा उसै गरि सबै खुशी भए हर्षले

आमाको दुध शायदै अरु म झैँ के खान पाउथे कठै
इस्कूल्को फिस तिर्नु पर्दछ भनि न दोई छाड्थे सबै

आमालाई पनि भरेंग मुनि लगी लाग्ला कि चिसो भनि
मेरो बास त झन अंगेनु डिलमा हुर्के म थांगना गनी

काखैमा म त हुर्किए कति मिठो तातो र न्यानो लिई
पोशे बाबु सगै सुतें कति कति आनन्दले मन दिई

बार्तालाप गरे दशैं भनि दशैं मुखमा सबैको कुरा
सुन्छु देख्छु अति मुहार हसिलो घरमा सबैको पुरा

बाबु भन्छ उ हाउ भाउ गरदै कापी कलम चाहिने
फेरी हेर्छ मलाइ दृस्टी रसिलो माया अझै पाइने

त्यो को हो घरमा नया छ अनुहार बोक्दै उचाल्दै गरि
सर्को तान्छ उतै धुवाँ फुकी फुकी चुरोट को स्वाद भरि

यस्तैमा उसले गन्यो कति कति कागत फुकाई बिटो
डोरी छाडिदिए समाउन पुग्यो गर्धन मलाइ छिटो

आमा ति ढिकीमा म फर्किन भनि बाटो कुरी बस्दछिन
अश्रुपूर्ण छ नेत्र पीर मनमा बोकेर गूंड पस्दछिन्

म्याँ म्याँ शब्द गरेर घिच्चिन पुगें घरको पछाडी जुट
हे हे दैब उडे सबै ति सपना सर्वस्व मेरो लुटे

पानी भक भक उम्लदो छ खुकुरी देख्छु चमाचम त्यहाँ
मनमा खुल्दुली चल्छ सोच्छु मनमा दाज्यै हरायो कहाँ

ताउलो किन हो म बुझ्दिन त्यहा हासी रहेका सबै
पानी छ्यापी सिदूर फूल हरुले सिगार्न थाले नि है

आँखा चिम्म गरेँ चिसो जिउ भयो खुट्टा पनि अल्झियो
डरले कामिरहें म लुगलुग गरि मुटु पनि हल्लियो

मैं जस्तो गरि जन्मिए शरीर त्यो आफ्नो भने दुख्छ रे
मेरो गर्धनमा बजारी तरबार भन्छन कलिलै छ रे

हे मनुष्य ! भन्दै उ भन्छ कि :-

मृत्यु दण्ड दियौ आज न साधि अपराध यो !
बनायौ छागको साग छदैछ भोग पाप त्यो !!



.



बिना दोष अकारणमा भत्कायौ नवजीवन !



तिम्रो स्थान कहा होला स्वर्ग वा नर्क लौ भन !!

No comments:

Post a Comment