Sunday, January 27, 2013

सम्झी बाटो मन भ्रमणमा पुग्छ ''नेपालगंज''

.घरको आँगन बसेरै कति दिन कुरौ मात्र आलस्य बढ्छ
जाडो चीसो शरद हृतु यो जिर्ण भो देह ढल्छ
सम्झन्छु लौ बिगत बय कसरी घुम्दथ्यो देश कुञ्ज
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

राउटे जुम्ली र हुम्ली बिबिध रुपका देखिने यत्र तत्र
कोहि चर्चका पुजारी अनि मसजिदका बोलवाला ति भद्र
दक्षिणका छन् छिमेकी बहुरूप तिनको भीड व्यापार बन्द
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

हुस्सु टम्मै पर पर क्षितिजमा पंख आफ्नै फिजाई
ढाकी बस्ने सिरकसरि त्यो दूर दृस्टी समाई
टाँगा रिक्सा अनि बयल सबार ''नानपारा'' तु. भन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

थालि बोकी पुजाका गृहिणीहरु कति पूर्वमा सूर्य ताक्ने
जोडी जोडी बनेरै भगबती भनि कल्पना भित्र भाक्ने
यात्रु गन्तब्य खोज्दै हतपत गरि ट्याक्सीको मुल्य खन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

सब्जी मन्डि उ आफ्नै परिसर महा गर्वको हाँक दिन्छ
ताजा ताजा भनेरै कति दिनपछिको बिक्रीमा आलु किन्छ
कालिकोटे र हुम्ली मुगु तिर बसने यात्रु दैलेख जान्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

बाँके सुर्खेत पस्दा अझ सरल भनी साथीलाई उ भन्छ
नेपालीको मन मुटु निरको देबी बागेस्वरी छ
खुद्रा ब्यापारी सबको पसल जिबिका स्रोतको ठाउ बन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

पाहाडीको मधेश् यो नुन मरमसला तेल लत्ता र बस्त्र
स्याउ आलु र जिम्मु हिङ्ग र घिउ पनि अन्त जादैन नत्र
भोको कत्ति शयनको कुरी कुरी निशा बागीटोला उ जान्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

पस्चिमान्चल भनेरै बिकसित हुदा देशको मूल्य बढ्ने
शक्ति केन्द्रीकरण पनि छ रे राजधानी न छाड्ने
नारा घंक्यो समुचित बिकाश क्षेत्र क्षेत्रैमा दङ्ग
सम्झी बाटो मन भ्रमणमा पुग्छ ''नेपालगंज''



No comments:

Post a Comment