Saturday, January 14, 2012

भिखारि

सहज थियो गर्भ पिता उनै थिए
गरेर बाचा जननी बुझी लिए
चराचरैको अनुराग हो सब
भुल्यौ कि बाटो भन के गरि अब


बित्यो दसै मास झुकेर गर्भमा
पुरा भयो कर्म ढुकेर मार्गमा
सफा थियो देह रसादिको द्रब
भुल्यौ कि बाटो भन के गरि अब


हुनु थियो लालन पालनादिक
भयो बढे अङ्ग जुटाई तात्विक
खै अक्षरारम्भ र पाठनादिक
भुल्यौ कि बाटो भन के गरि अब


अमूल्य बालापन बाल्यकाल
बितेछ सप्नासरी स्वर्ण थाल
गन्तब्य को मार्ग छुट्यो झकाझक
भुल्यौ कि बाटो भन के गरि अब


यो हाल तिम्रो किन भो कसोगरि
गुरु हराए कि सबै गए मरि
कि भाबि लेखान्तर क्रुर थे सब
भुल्यौ कि बाटो भन के गरि अब


कि भाग्य नै हाबी भएछ कर्ममा
कि कर्मको ख्याल घुमेन मर्ममा
सहि दिशाबोध छुटी गयो जब
भुल्यौ कि बाटो भन के गरि अब


यो भेष तिम्रो घर ब्रह्मचारी
लिएर आशा मनमा बिचारी
माग्दै छहारी घरघर घुम्यौ सब
भुल्यौ कि बाटो भन के गरि अब


मुठी उठाई एक छाक टार्ने
शरीरका सब अरु भोग बार्ने
मस्तिष्कको चिन्तनशील बैभव
भुल्यौ कि बाटो भन के गरि अब


त्यो झुल्कने घाम बिहान पूर्वमा
भरेर उत्साह सच्याउ कर्ममा
बन्नेछ औद्योगिक छात्र गौरब
भुल्यौ कि बाटो भन के गरि अब


समाउ फर्की हतियार यौटा
कुटो कलम कि बनि हेर श्रस्टा
शुरु गरि खेल कहा छ शैशब
भुल्यौ कि बाटो भन के गरि अब

No comments:

Post a Comment