Friday, November 11, 2011

मुसाको कथा

मुसाको कथा
by Chacha Bihangam on Tuesday, November 1, 2011 at 4:00pm
मुसाको जीवनी ,हाल खवर त्यो बुझ खेतमा !
परिश्रम- थकाईको फल चोरेर रेतमा !!


जसरि पानि टिक्दैन बालुवामा खन्याउदा !
त्यसरी धानका बाला काट्दै लान्छ ढिला हुंदा!!


बालि भित्र्याउने मास मंगसिर दिन आउंदा !
सात ओटी बिहे गर्छ मुसाले खान पाउदा !!


न कमाइ गरि बस्छ , उद्द्योग नाम शुन्य छ !
नाची नाची रमाएर भन्ठान्छ त्यहि पुण्य छ !!


तर हेर हिरा कोबिद नेताको त्यहि रूप हो !
मुसाभंदा फरक छैनन् घुस ता मात्र धुप भो !!


खाला त्यो श्रम चाटेर कमाइ अरुको जब !
जुनी चोरमुसा जस्तै भोग्नेछ भेटिंदा तब !!


धान काटी सकी खेतमा किसान जब टेक्दछ !
बाला चोरी दुलाभित्र लुकाको पनि देख्दछ !!


प्वाल प्वाल गनी गन्दै अन्दाज गरि बालीको !
क्षति भाको जति मात्र न भै बचन गालीको !!


दिदै खन्ती र कोदालो काँधमा बोकी रीसले !
धुबाको मुस्लो बोकेर दुलो भत्काउछ बिषले !!


सातौटी स्वास्नी को साथ मुसो पर्छ बिचल्लीमा !
छाडेर भाग्नु पर्दाको कस्ठ भोग्नेछ गल्लीमा !!


जस्तो आली मुनि आफ्नो कमाइ पसिना भनि !
चिहान सब मूसाको यौटै हुन्छ खनी खनी !!


दुस्ठको हाल त्यस्तै नै हुने बाला छदैछ नि !
न डराउ तिमि धैर्य धारण गर्नु त पर्छ नि !!

Friday, October 21, 2011

जे जे नाप्नु छ नाप लौ !

लाखौ लाख जनार्दनको मन भित्र छ चाहना
बाबुराम तिमीलाई बधाई शुभकामना ! !

नेपालीहरुको चाड दशैं ठूलो सफल रहोस
कर्तब्य मनमा उब्जि सद्बुद्धि शिरमा बहोस

भन के के छ संकल्प फुल्न बाकि भए अरु
फक्रियुन ति सबै आज टिप्ने छन अरुले बरु

आफुले नै फलाएको कर्कलो पातमा बसी
पानीको टल्कने थोपा जस्तै आसनमा फसी

खुँडा ,बारुद तरबार हिंसामा जति चम्किए
प्रायास्चित्त गरि पैले पखालिमात्र लम्किए

हिजोसम्म अगुल्टोले परैबाट धसी धसी
पकाए थ्यौ जति देश पाक आफै चुलो पसी

दुवै कान समातेर जल बाग्मतिको पिई
देशलाई धकाल्दीन पछाडी भन मन दिई

चिर्दैमा कान त्यो जोगी कहा हुन्छ र साबित
त्याग संग्रहको गर्दै गए पो हुन्छ बिस्त्रित

अब बागडोर जिम्मामा लिएर रथ हांकनु
मारेका सब ति आत्मा ब्युझाई शान्ति डाकनु

शुरुमै नब दुर्गाको प्रसाद शिर थाप लौ
फर्कने छैन यो मौका जे जे नाप्नु छ नाप लौ !

Friday, September 23, 2011

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा !!

by Chacha Bihangam on Friday, September 23, 2011 at 12:56pm
स्वर्ग स्वर्ग भनि भन्दै मरिमेट्नु छ के तर

भोगेका सबले हुन्छन् बुझ्दैनन् सब ति नर

त्यो स्वर्ग तुच्छ नै होला दाजौ म कसरी यहाँ

आमाको काख त्यो न्यानो स्वर्गमा पाउनु कहा

प्राप्त हुन्छ सबैलाई एकपल्ट प्रिथिबिमा

दीर्घकाल कसैलाई लघु बन्छ गरिबीमा

आमाको होस् बुबाको होस् तिथि यो चाड पर्वको

काखको त्यो अनुभूति गरौ सम्झेर गर्वको

हुर्काए तर के कत्रो महा भारत ले गरि

उपदेश अघि सारौ गीतापाठ गरेसरि

अगाडी चित्र त्यो राखी सास्टांग गरि स्पर्शले

धन्य धन्य भनि ब्यक्त गरौ आभार हर्षले

दान पुण्य गरि गर्ने बिचार मनमा भए

पर्दैन तिथि यो कुर्न असहाय भनुन् जय

बर्षमा तिथि यो चक्र घुमे झैँ घुम्छ सर्बदा

कसैले बिर्सनु हुन्न आमाबाबु सदा सदा

कविहरु हाम्रो !

by Chacha Bihangam on Tuesday, September 20, 2011 at 6:35am
कुराहरु माला जस्तै कवितामा उनि

छन्द लय मिलाएर लेखनाथको सुनि



भाब रस भर्नु पर्छ तल माथि मुनि

लय हाली बाचन गर्नु पैले आफै चुनि



थाहा हुन्छ कसो गरि चाचा विहंगम

लेख्ने गर्छ कबिता त्यो भनि पर्ला भ्रम



गार्हो साह्रो मान्नु हुन्न थप्नु परे श्रम

यसै गरि मिलाउनु कविताको क्रम



नब रस अलिकति जानी राखे राम्रो

पिङ त उसै मच्ची हाल्छ न भएनी काम्रो



पैले होला न उर्सेको सेल जस्तो दाम्रो

यस्तै गरि लेख्दा होलान् कविहरु हाम्रो !

Monday, September 19, 2011

पख्नुस त, नेपाल जान लाग्या भए !

सुन्छु आज म के यहा खुश खबर स्वदेशमा भित्रिन

जानुहुन्छ अरे कतिदिन उतै उद्देस्य के हो किन ?

होलान ति मनमा असह्य परदेश बस्दा गडेका पिडा

एकैसाथ उकुस मुकुस भई अघि बढ्लान् बिथोल्लान् क्रिडा

मनमा धैर्य लिनु सबैसंग चिनु बाँडेर यो भन्दिनु

पक्कै आउँछ त्यो विहंगम पनि बाटो बरु खन्दिनु

यौटा सानु चुटुक्क पायक महा डेरा किनी बस्छ रे

उत्तर पन्थ पनि बितोस यहि भनि विभूति नै घस्छ रे

हातखुट्टा बलिया थिए र उसका बिदेशका धर्तिमा

बिस घण्टा हरदम खडा भइ उठी असि तिर्यो जर्तिमा

के पायो उसले त्यहाँ भनु कठै बाहेक बास् रात्रिको

लूला ति अब सब भए अबयबै स्मरण गर्यो मात्रिको

केहि काम अझै निकाय सरकार भन्ने हरुमा गई

गर्नु सम्भब छैन कि छ कि चुसी हाल्छन नजिकै भइ

मन्मा बोकी रहेछ त्रास बिजुली चंकी अगुल्टे कुकुर

तर्से झैँ अझ मालमा छ कि उडुस् डस्ने भुसुना ढुकुर

छाडातन्त्र अनि कमिशन पनि ग्याँसको लहर पम्पमा

खल्तीबाट झिके असम्भब पनि बन्दैछ कि जम्पमा

यो संदेश लगी सुनाउनु हवस फिर्ती सबारी हुंदा

इच्छा तीब्र छ यो सुनौ सब कुरा यथार्थका ती बुंदा

Wednesday, September 14, 2011

आफ्नो कथा

by Chacha Bihangam on Saturday, April 16, 2011 at 12:26pm
घरको अघि करेसा बारी पछाडी बगैंचा
फल र फुल छ लटरम्म पिंडी मा फलैंचा
ढिकी र जाँतो कुनामा घान पर्खेर बसेको
एक पाखे पालि भित्तामा टाँसी थाकल्ले कसेको


पूर्वको ढोका आँगन ठुलो, खरले छाएको
दुइ तले घर दक्षिण पट्टि बार्दली पाएको
चारौटा खम्बा उठाई खडा गरेको माचमा
पराल टन्न पाकेका फर्सि रहन्थे खांचमा


बिशिमा खेत डिहीको गोठ गाईगोरु टन्न छन्
घरैमा भने दुहुनो भैंसी लैनो गाइ शोभा झन्
कामको भाग- बण्डा र खटन् पटन आमाको
को जान्छ मेला गोठालो को हो कुन् काम धामाको


बुहारी जेठी जाउ घाँस आज मेलामा माइली
माइलो छोरो बाउसेमा गा'छ घट्ट जाउ साहिली
साइलो छैन घरमा हेर पढ्छु म भनेर
बिचार उसको आएछ पढ्ने पुजारी बनेर


काइलोको बिहे गर्नु छ बाकि शहर डुलदै छ
के मालुम् मन लागेन घरमा के मा उ भुल्दै छ
तिनौटी छोरी टुप्लुक्क माइत घरैमा रमाए
जहान सबले घरमा आफ्नो एक लग समाए

गाइ र बाख्रा मिल्दैनन् चर्न भिर पाखा दगुर्छन्
आमालाइ कान्छो हलुका काम नत्र रोइ हाल्छ झन्
गोठालो संधै जेठो नै जान्छ, बुबालाई सघाउन
कहिले काही सराध्दे जुध्दा कि पुजा लगाउन


कोइरालथोक चौरासी घर यजमान् बुबाको
पुराण कथा पन्डित पेशा पांच बर्ष हुदाको
बाबाको पछी लागेर हिड्दा छलिए एकदिन म
पैसठ्ठी वर्ष पछाडी फर्की भन्छ यो ''विहंगम'

मनुस्य चोला

by Chacha Bihangam on Sunday, April 24, 2011 at 10:42pm
जन्मियो कि फस्यो चक्र ब्युहमा जीवानान्तर
भुबरितुल्य सागरमा डुंगा झैँ घुम्छ यो नर


मलमुत्रादिले ब्याप्त भोक तिर्खा सहिष्णुता
तातो चिसो र ब्याधिको घर नै बन्छ देह ता


लम्पसार छ पृथ्वीमा बाल्यकाल बिताउदै
प्रतिकूल सहि बस्नु नियतिले सताउदै


चल्दैनन् अङ्ग प्रत्यंग आफ्नो काम समाउन
देखेका बस्तु ति के हुन् उ सक्दैन ठम्याउन


आशामा अरुकै खालि भर पर्नु छ केवल
शिशु भै बाच्नु पर्दाको दुख भोगाई पल्पल


बिताई कति दिन यस्तो बल्ल टेकी घुडा जब
उठेर दौडु कि भन्दा बामे सर्ने भयो अब


हेर्छ देख्छ सबैलाई उफ्री उफ्री खडा हुँदै
दौडेका अनि त्यो घरमा भरेंग पनि उक्लंदै


मनले भन्छ झम्टेर अगाडी उसको बढौं
तर के मान्छ खुट्टाले उठ्न खोज्दै कति लडौं


बल्ल बल्ल बिताएर यस्तो यो नर शैशब
प्रवेश गर्छ केटा बा केटीमा हुर्कैदै जब


खेल्न खानु अनि सुत्नु निद्रा भोक हटाउनु
साथीको संगमा बस्नु मन लाग्छ रमाउनु


तर त्यो स्कूल भन्नेले दुख दिन्छ निरन्तर
किताब भारि त्यो बोकी हिड्नाले हुन्छ अन्तर


गुरुको धम्कि त्यो ठुलो बाउ आमा रिसाउने
स्वन्त्रन्त्रता कहा पाउ मन्को बोझ बिसाउने


रिति नै सबको यस्तै थाल्छु मन बुझाउन
बुझ्न थालें सबैको यो मनस्थिति कजाउन


यस्तै गर्दै पढी बढ्दै बल्ल हुर्कें बिते दिन
अब ता मन यो थाल्छ युबतिमा रुची लिन


मन यो गर्छ कोहि होस् माया गर्ने कि मै गरूँ
घरमा अरु कोहिले थाहा पाए म नै मरुँ


लुक्दै चोर्दै जवानी यो हुत्तिन्छ खै भबिष्य के
कसरि हुन्छ निर्बाह खुट्टा चिप्लिन जान्छ हे


दिशा निर्देश को दिन्छ बाबु आमा म मान्दिन
मनमा बस्छ जो मेरो अरु कोहि म जान्दिन


शिक्ष्याले दिनुपर्थ्यो जे सबै गर्छन् कहाँ पुरा
म मेरो भाग्यलाई नै थोपिरिदिन्छु त्यो कुरा


यसरि नै बिताएर जवानी भरको रिन
बोझ संसारको बोकी सहन्छु दुखको दिन


यहि हो नियति भन्दै मन मेरो कराउछ
पश्चाताप कति गर्नु होश मेरो हराउछ


बटुलीन्छ यहा नेर जिन्दगीको अनुभब
बेलैमा सबले थाहा पाई राख ल है अब


संसारभरमा कत्ति आउदै जादै चराचर
घुम्छन् यै रीतले हेर तिम्रै छ दृस्टी गोचर

दृस्टी भन्छ:-
बाटो लाग्न कठिन छ हेर पहिले बिताई यो शैशब
इच्छा धेर पुरा हुदैन कहिल्यै पाइन्न त्यो बैभब