Monday, March 19, 2012

के हेर्दछौ ईश्वर !

·

हे साथी! प्रियको सुदर्शन गरौ भन्ने मनैमा रह्यो

सेवाको अबसर मिल्यो तरपनि दुर्भाग्य भोग्नु पर्यो

निस्ठुरी हुनुको पनि अलिकति सिमा त हुन्थ्यो हरे !

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

1

के भोगें ? कसरि बयान म गरु मुटु छिया झैं भयो

आफ्ना ति प्रियको वियोग यसरि आँखा अगाडी रह्यो

लामो जिर्ण शरीरको वरिपरी बसेर सेवा गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

2

आँखाले जति देख्छ कस्ठ र ब्यथा मन्मा अटाउथ्यो किन

पोखिन्छन् यसरि खपुन् ति कसरि आयो सरासर लिन

मेरा ति प्रियले र आफ्नु हितले सम्बन्ध साँच्दै गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

3

सेवा गर्न कति तयार ति थिए सम्पूर्ण बन्धुहरु

रोगि भैकन बाच्न छैन सजिलो सुगम बनाए अरु

पाँचै भौतिक देहको वरिपरी घेरेर न्यानो गरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

4

स्थायी छन् जगमा ति चन्द्र सबिता धर्ति छ यो नस्वर

राजा रङक सबै गए दिन पुगी के हेर्दछौ ईश्वर

नाइँ नास्ती थिएन जान्न म भनि छडी घुमायो हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

5

आत्मा यो अविनाशी हुन्छ तर त्यो यो देह फेरिन्छ है

पुण्यात्मा हरु हेर ध्यानगतिले छानेर फेर्छन कठै

रोज्नै बाकि थियो जुनी पछि हुने को को कहा गै सरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

6

जानु नै छ मलाइ एकदिन भनि ठानी बसें मन् मन

पालो मिच्न भनेर मन्द बिषले हानि ढलायो किन

बस्त्रै जीर्ण हुदा नराsदिकहरु साटेर लाउछन् भरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

7

लीला बुझ्न कठिन तथापि ग्रहको लेखान्तरै हो भनि

पुजा पाठ गरेर शान्त मनले अध्यात्म चिन्तन गरि

गर्दैथें म झुकी जराग्नी शरले मस्तिष्क मेरो चरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

8

आफ्नो भाग जति थियो बदनमा त्यो भिष्मशैया सहें

काया मात्र न भै छिर्यौ मगजमा पुरा अपांगै भएँ

आँशुका भल रित्तिए तर कति दिदैछ शास्ती हरे

हान्यो ईस्वरले छुरा प्रखर त्यो शोकाश्रुमा सब परे

9

आज्ञा पालन गर्छु जोडी कर यी भोगी सकें बास्तव

मेरो बास नजीक ईश पदमा इच्छा छ यो मत्लब

पूरा गर्न म पांउ सेवक बनि कृपा म माथि छरे

भन्दै देह बिसाई फर्कनु भयो शोकाश्रुमा सब परे

10

लौ आज हे बीर हो !

·

राणा शासनको शताब्दि दुइको असह्य त्यो क्रूरता

सीमा नाघ्न गइ शुरु अनि भयो अघि बढ्यो बीरता





गंगालाल र धर्म भक्त बीरका साथमा रहेका अरु

ताती बाधि तयार जुध्न ति थिए निस्की सडकमा बरु





चौडा छाती फुकाई खोलि दुइ हात लौहान गोलि भने

निस्केको स्वर त्यो घुम्यो गगनमा संसार सबले सुने





नारा घन्कन गै बिरोध गुंजियो जुलुस बढ्यो क्रान्तिमा

सारा देश उचालियो तर पनि केहि थिए भ्रान्तिमा





ढ्यांग ढ्यांग गोलि चल्यो चराहरु सबै अनिष्ट सम्झी उडे

त्यो कोलाहल मच्चियो जुलुसमा शोकाश्रुमा सब डुबे





आमा ढुक्क भइन उतातिर ठुलो छाती फुकाई बसिन्

देशको खातिर ज्यान अर्पण गर्यौ सपूत मेरो भनिन्





दिन्छन आहुति कर्मबीर हरु यी ज्यु ज्यान देश खातिर

यो संसारिक भोग तुच्छ छ सबै नाम मात्र हो आखिर





यीनै बीर सपूतका हबनले देशको गरीमा बढ्यो

अर्को एकपछि चढेर शुलिमा जुलुसको दम चढ्यो





माला पुष्प अबीरका सगुनले रंगीन भो भीड त्यो

अत्याचार र क्रूर शासन निभ्यो राणाहरुको दियो





बिजारोपण त्यो भयो शहिदको रुक्दैन क्रान्ति अब

भन्दै ढुक्क सबै भए मनमनै प्रजा रमाए तब





हेरी रक्त प्रपात त्यो नगरको झार्दै नयन नीर यो

गर्छौ अर्पण फूल औंजुली भरि लौ आज हे बीर हो !

01/27/2012

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !

आमाको प्रतिक्ष्या:शहिद ढलेपछि !


हिमालमा घाम टिलिक्क टल्कियो

बितेछ दिन यो भनि रात ढल्कियो

चराहरु बास्छ्न पात पातमा

कति कुरौ म घर फर्क रातमा



फुलेर गोदावरी ढकमकियो

ढलेर सन्ध्या जुन टकटकियो

क्षितिजमा गोधुली खातखातमा

कति कुरौ म घर फर्क रातमा



मुस्कान भर्छन मुरली मनोहर

सुगन्ध बत्ति धुप घंटको स्वर

बजाई तालि जय बात बातमा

कति कुरौ म घर फर्क रातमा



थकानले चुर छ कर्म जीव

प्रपन्न निद्रा भयले हरे शिब

पर्खिरहेछन शिशु हात हातमा

कति कुरौ म घर फर्क रातमा



ढले कति जायज माग पाउन

ति क्रूर शोषक हरु नै भगाउन

आफु मिटाइ जब साल सातमा

कति कुरौ म घर फर्क रातमा



स्वदेशको लागि सदैब तत्पर

यी सन्तति हुन् भगवानको बर

उत्सर्ग ईच्छा प्रति जात जातमा

कति कुरौ म घर फर्क रातमा



छ देशको आहुति सौम्य सौरभ

ठुलो भयो छाती म गर्छु गौरब

फलोस फुलोस मातृभू घात घातमा

कति कुरौ म घर फर्क रातमा

विकासे गीत

विकासे गीत


हातमा हात मिलाई देश बिकाश गर्नुछ

पसिनारुपी मल र जल जागरले भर्नु छ

******************************

अरुको भर न परी हामि अगाडी बढ्नु छ

न मानि गार्हो दुखमा सार्हो शिखर चढनु छ

*******************************

गरेर अल्छी पुग्दैनौ हामी बिस्वको दाजोमा

स्रोतको धनी नेपाललाई न चिर धाँजोमा

*******************************

निर्माण नया नेपाल गरौ बदलौ कुरीति

चन्द्र र सुर्य झण्डानै रहोस राम्रोछ त्यै थिति

********************************

बिजुली कल कारखाना पुल कुलो र सिचाई

बन्जर बाँझो खनेर मरुभूमिमा भिजाई

********************************

खेति र पाती अन्न का दाना फलफुल फलाउ

खोस्रेर खानी फलाम धातु हामी नै गलाऊ

*******************************

पहाड भरी मोटर बाटो खनेर भिरमा

हामी छौ बिर भनेर टोपी चिनाउ शिरमा

*******************************

संसार भरि चलेको नाम गोर्खाली बनेर

सगरमाथा सरि नै रहोस नेपाली भनेर !!

भरिया

कुन मरुभूमिमा जान्छौ भरिया कुन खाडीमा जाने हो

कति आर्थिक लाभ हुनेहो कति जीवन स्तर उठ्ने हो





बिस्वको अति सुन्दर मुलुकमा जन्मनु तिम्रो भाग्य अहो

स्रोत प्रकृतिका सारा यसमै छन् बाहिर किन जानु थियो





आमा नेपाल हसिली रसिली प्राकृतिक यौबनले भरपूर

सन्तति उनकै हौ कति बीर गर पालन उनकै मजबूर





जुन माटोमा जन्म लिएर बिस्वमा शान्तिको दूत बन्यौ

सगरमाथाको उच्च शिखरमा लडिबुडी खेल्ने मै हुँ भन्यौ





बुद्धको भूमि शान्तिको भूमि उच्चता बोक्ने शिखर प्रतीक

नदि र नाला मेची काली कार्यमा तिम्रै हुन्छन सरीक





बन जंगल झरना फाट कर्मभूमिको यो पुण्य थलो

आशमा तिम्रै बाची रहेछन जाउ समाउ जोत हलो





सेबा गर अब जन्मभूमिको कर्म भूमिमा पसिना छर्दै

दुधको भारा तिर्न सजिलो छ यै माटोमा पौरख गर्दै





आश अरुको गर्नु परेन आफ्नै साधन पहिल्याएमा

स्वर्ग भन्दा पनि ठुलो हुन्छ मातृभूमिको गित गाएमा





फर्क न जाउ खाडी प्रदेश सुख सन्ततिको हेर्नुपर्छ

तिम्रै आशमा बस्छिन आमा उनकै पोषण गर्नु पर्छ





अब न जाउ हेर विदेश घरमा दुखि छन् कैयौ हजार

दुखीको सेवा गर्दै बस तिमि मात्री भूमिको हुन्छ उद्धार !

Saturday, January 14, 2012

भिखारि

सहज थियो गर्भ पिता उनै थिए
गरेर बाचा जननी बुझी लिए
चराचरैको अनुराग हो सब
भुल्यौ कि बाटो भन के गरि अब


बित्यो दसै मास झुकेर गर्भमा
पुरा भयो कर्म ढुकेर मार्गमा
सफा थियो देह रसादिको द्रब
भुल्यौ कि बाटो भन के गरि अब


हुनु थियो लालन पालनादिक
भयो बढे अङ्ग जुटाई तात्विक
खै अक्षरारम्भ र पाठनादिक
भुल्यौ कि बाटो भन के गरि अब


अमूल्य बालापन बाल्यकाल
बितेछ सप्नासरी स्वर्ण थाल
गन्तब्य को मार्ग छुट्यो झकाझक
भुल्यौ कि बाटो भन के गरि अब


यो हाल तिम्रो किन भो कसोगरि
गुरु हराए कि सबै गए मरि
कि भाबि लेखान्तर क्रुर थे सब
भुल्यौ कि बाटो भन के गरि अब


कि भाग्य नै हाबी भएछ कर्ममा
कि कर्मको ख्याल घुमेन मर्ममा
सहि दिशाबोध छुटी गयो जब
भुल्यौ कि बाटो भन के गरि अब


यो भेष तिम्रो घर ब्रह्मचारी
लिएर आशा मनमा बिचारी
माग्दै छहारी घरघर घुम्यौ सब
भुल्यौ कि बाटो भन के गरि अब


मुठी उठाई एक छाक टार्ने
शरीरका सब अरु भोग बार्ने
मस्तिष्कको चिन्तनशील बैभव
भुल्यौ कि बाटो भन के गरि अब


त्यो झुल्कने घाम बिहान पूर्वमा
भरेर उत्साह सच्याउ कर्ममा
बन्नेछ औद्योगिक छात्र गौरब
भुल्यौ कि बाटो भन के गरि अब


समाउ फर्की हतियार यौटा
कुटो कलम कि बनि हेर श्रस्टा
शुरु गरि खेल कहा छ शैशब
भुल्यौ कि बाटो भन के गरि अब

गजेन्द्र मोक्ष

खाँदै मस्त हुँदै घुमी सुख सयल गर्दै तपोबन डुली
बस्थ्यो साथि समेटी मालिक बनि रोज्थे सबैले मुली

बलमा निर्भयको अजङ्ग बलियो शरीर धारी सुंड
शक्ति संचयको छ खानि उसमा गजेन्द्रको हो गुण

मत्ता हात्ती भनेर भन्छन सबै देख्दा बलियो उ नै
निर्धक्कै विचरण गर्यो जलधिमा सोचेन क्यै मनमनै

तिर्खा मेट्नु र उष्णता शरीरको हटाउने मन्तर
गर्मि गृष्म ऋतु जमीन जलमा संधै हुने अन्तर

गर्छु हस्तिनी भोग आज जलमा क्रिडा छ आनन्दको
भन्दै साथ करेणुकासंग गयो चिसो छ जल मंदको

डिलमाथि उभिई उठाई सुंड त्यो आव्हान चित्कारले
बोलायो गजनंदिनी पनि त्यहा हाजिर भईन प्यारले

आलिंगन सुंड ले गरेर तनमा कानमा गर्यो चुम्बन
सारा देह फुकाई तन्तुहरुको जालो हट्यो बन्धन

थामिन भार ठुलो थियो बजनको हल्का भयो पानीले
पाईन प्यार जसै द्रबिभुत भईन सम्भोगमा रानीले

राम्रो फूल गुलाब टिप्न भनि जो इच्छा लिई मनभरी
कांडाको बिपना भुलेर तरुमा झम्टन्छ तृष्णा गरि

त्यस्तै त्यो गजराज लाइ अहिले जलबाट निस्की चर
भोकले आतुर मुख उघारी दुइको मुखमा धर्यो पुच्छर

तान्यो यद्यपि भीमकाय गज त्यो टेवा दिईन रानीले
खुट्टामा अरु आइ चार सुरमा डसे हठी बानीले

छोडेनन् जब ग्राह सब मिलि त्यहा हात्ती भयो निर्बल
ठुलो शान र शक्तिको पतन भो प्रयास त्यो निस्फल

मनमा भन्छ अहो ! म आज जलमा कति भएँ निर्बल
यो मेरो अपमान हो यदि कुनै सोचला जमिनमा बल

मेरो हुन्न कदापि हार जगमा अन्यत्र यस्तो गरि
देउ दर्शन भीमकाय अब यो पर्यो शरणमा हरि !

रोई अश्रु निकाली याचन गर्यो कबुल गर्दै भुल
सुंडले तानी टिप्यो चढाउन भनि असल कमलको फुल

मेरो बिन्ति छ हे बचाउ भगबन यो देह दुखमा फस्यो
भन्दै पुर्ब तरफ उठाई फुल त्यो दुइ हात जोडी बस्यो

यौटा रिति छ देबलोक भरिमा झुकी शरण पर्छ जो
उद्धारण उसको अबश्य छ हुनु कानुन नै भन्छ त्यो

विष्णुले जब यो पुकार सहसा सुने हुँदै तत्पर
कम्प्युटर मनको खिचेर नजिकै ''गुगल'' गरे सत्वर

हात्तिको त रहेन दोष छ कुनै त्यो ग्राह्को पंक्तिमा
पाउनु मोक्ष थियो पुग्यो मिति भने गजेन्द्रको भक्तिमा

प्रादुर्भाव भएर चक्रधरले हातमा सुदर्शन लिए
पानि भित्र डुबेर घांटी चरको च्वाट्टै छिनाली दिए

यौटा काम गजेन्द्र मोक्ष हुन गो आपद हटाए त्यहाँ
अर्को ग्राह जुनी मिटाइ चरको श्राप मुक्त पारे त्यहा

यात्रा स्वर्ग र प्रिथ्बिको घरि घरि गर्नु महंगो छ यो
यौटै मार्ग हिंडेर काम दुइटा गर्नु भनि भन्छ त्यो

हे नेताहरु हो! तसर्थ बुझनु भ्रमण विदेशको हुँदा
लाखौ खर्च बचाउ है भ्रमणमा सोच्दै यहि हो बुँदा