Wednesday, August 17, 2011

बिदाई !


by Chacha Bihangam on Wednesday, August 10, 2011 at 5:33am
पक्कै एकदिन छोरी छाडी घर यो जानेछिन आफ्नै घर
भन्ने तथ्य बुझेर साँची मनमा आस्वस्त हुन्थेँ तर
केभोआज झसंग हुन्छु मनमा बिग्र्यो कि लोक्को स्थिति
छोरीको भरमा थियो घर संधै यस्तै हो सबको रिति
थाक्दै बाहिरबाट भित्र घरमा पस्नेछु भोलि पनि
बाबालाई चिया कि पानि पहिले को सोद्छ कुन हो भनि
पूजाको सरजाम श्रीखंड र अबिर ,टिपेर राम्रा फुल
थालिभित्र सजाई शुद्ध जलले ध्वजा पताका तुल
बत्ति धुप र अक्षता तिल जऊ नैवेद्य नानाथरी
पारि ठीक बुबा ! भयो अब सबै तयार कोठाभरि
भन्थ्यौ दिनदिन धोति फेरी म संधै गर्थे पुजा अर्चना
यो घरका परिवार संधै खुशी रहुन भन्दै गरि प्रार्थना
घरको काम सबै निखारी पहिले गरि सफा सुग्घर
आमालाई सघाउदै वरिपरि हेर्थ्यौ नि भान्साघर
को गर्ला अब यो सबै जतनले बिर्सी न सक्नु यहा
नासो कै रुपमा थियौ तर पनि बुझ्ला र मन यो कहा
बिरामी असहाय सेवन पनि जिम्मामा तिम्रै थियो
चारैतर्फ सम्हाली काम घरको को बाल्छ साँझको दियो
जाउ थाम सम्हाली काम घरको सेवा पतिको गर
यो जस्तै घरमा गरेजति सबै गरेर किर्ति छर

शिलु गोरी


by Chacha Bihangam on Sunday, July 31, 2011 at 3:15pm
बारम्बार म सुन्दथे शहरमा त्यो चित्रकुट्को मुनि
बग्छिंरे जमुना सुशान्त स्वरमा चिर बिर चराको सुनि
छेवैमा बनराजको अधिनमा ओडार ठुलो छ रे
पश्चिम मा नदीको बगर संगसंगै उनको कुटी पर्छ रे
बालिके एक सात बर्ष बयकी माता पिता साथमा
बस्छिन उज्ज्वल शोभनीय कुटीमा सिउरेर फुल माथमा
चंचल ति अति सुन्दरी दिन दिनै जंगल पसी कामले
दाउरा खोज्न भनेर झन् पर गईन सताइदै घामले
आज्ञा पालन मात्रिको बचनको गर्दै पुरा चित्तमा
खेल्दै उफ्री रमाउदै ति समिधा जम्मा गरिन वृत्तमा
जंगलको एकलासमा प्रकृतिका ति फूल सुन्दर हुनु
त्यसमाथि मृदु बालिके ति थपिदा स्वर्गै भनि सम्झिनु
भन्छन विज्ञहरु अति सरल औ कोमल छ बस्तु भने
संरक्षण त्यसको कठिन छ उति नै बिनास तत्क्ष्ण हुने
शंका यो मनमा उठ्यो म कन लौ आभास तितो भयो
बादलको अति अन्धकार नभमा मडारिदै ढाकियो
धर्ति कम्पन गै दिशा दस तिरै झट्का चट्यांगले दियो
मनमा चिन्तित सुन्दरी अब भईन् अनिष्ठ बढ्दै थियो
छानो छैन कतै गई लुकु भने ओढार टाढा भयो
बर्षा त्यो घनघोर को र असिना पानीले सातो गयो
चिच्याईन असहाय एक्ली बनमा जाउन् कहा को छ र
ज्यु जोगाउन नै अति कठिन भो को दिन्छ उनको भर
भन्दै ति घर तर्फ नै अघि बढी जंघार तर्दै थिइन्
बिचमा नै न पुगी ठुलो हुरी चल्यो बाच्नै न सक्ने भईन
निस्ठुरी हुरीको परि भुबरिमा प्राण धान्न गार्हो थियो
यौटी सुन्दर बालिके प्रकृतिले काखमा समाई लियो
घर छाप्रो कुटीमा निरिह दुइमा हलचल मचियो तर
खोजि गर्न भनेर लाल्टिन लिई छाडे दुबैले घर
खोजे नाम पुकारी हे शिलु भनि त्यो आंधीको साँझमा
कस्तो कस्ठ खपेर प्राण कसरी बच्ला है बन माझमा
उनको केहि निशान चिन्ह पदको भेटिन्छ बाटो भनि
भन्दै धाप बगर र आश्रय सबै खोज्दै चिच्याउदै पनि
पच्छ्याये पदचिन्ह फर्किन भनि जंघार को छेउमा
भेटे सानु ति पाइला तर शिलु बगिन् लडी लेउमा
गर्दै शोक बिलाप ति तरहका नानाथरिका गरि
फर्के ति अब बालिके स्मरणमा बस्छिन सदा हे हरि !
( विलियम वर्डस्वर्थ को 'लुसी ग्रे' मा आधारित )

ए ! निद्रा लागेन ?

ए ! निद्रा लागेन ?
by Chacha Bihangam on Saturday, July 23, 2011 at 11:53pm
यौटी रानी सुख दुख संगै साथमा बोकी हिड़छिन्
दिन्कादिन्को नियमित थकान् मेट्नको लागि भिडछिन्
बानि उनको सबसंग मिलि बस्न आफै पछाडी
सर्दै जान्छिन, छुनु मुनु गरि जादु भर्छीन् अगाडी
जसको सादा जीवन छ सदा शुद्ध शाकीय भोजन
मिठो बोलि अनृत न भई चित्तमा घुम्छ ओजन
कुण्ठा ईर्ष्या अशुभ अहितको लान्छना तुच्छ सोची
मनमा लिन्छन् सुमति र सदाचारको भाब खोजि
त्यस्ता प्राणीहरु बीच उनि लाज मान्दै खुरुक्कै
भन्छिन आएँ अब तिमि उठी सुत्न जाउ जुरुक्कै
उनको बानी अति असल छ है पल्टिदा साथ आँखा
खोजि खोजि अबयब हरु पार्दछिन् कम चनाखा
चोखो मिठो परिश्रम गरी दैनिकी बित्छ जस्को
दासी बन्छिन् घुमी नयनमा थप्न उर्जा उसैको
जो हो भोजन पनि अहितको शुद्ध सात्विक छाडी
लागि पर्छन परिश्रम न गरि खोज्दछन् न्यानो राडी
बोकी चिन्ता लिई पसी मनमा सोच्दछन् ,चाहियो धन्
भन्दै खोजि कलुषित बनि रात उद्द्योग गर्छन
निद्रा रानी तिनीहरुकनै छाडी भागेर दूर
जान्छिन, बस्छिन झन झन रिसले बन्दछिं हेर क्रूर
निद्रा मेरी जीवन भरिमा डाक्नु कुर्नु न गर्दै
आउछिन ताल्चा लिइ कन उनी सामुमा दंग पर्दै
निद्रा जस्तो सुगम र सुलभ बस्तु आफ्नै छ एक
आफ्नै इच्छा बिपरित कुरा छानी छानी अनेक
गर्दा जानी बुझिकन सबै पर्दछन दुखमा लौ
मीठो निद्रा परपर गरि दूर सार्ने तिमि हौ

उमेर १४

उमेर १४
by Chacha Bihangam on Wednesday, July 20, 2011 at 9:57am
यो कस्तो बय हो सबैको भय भो फुच्चे भनि गन्दछन
आजै तेह्र पुगेर चौध सिढीमा टेक्दै छु के भन्दछन
भन्छन कि लघु बर्गका सखीहरू यो ता ठुलो भै सक्यो
खेल हाम्रो बिचमा हुदैन यसको खेल्ने उमेर गइ सक्यो
हाम्रो यो ग्रुपमा जति पनि रहुन बाहेक त्यो हुन्छ है
ठुलो भै म सके भनिकन सधै हेपेर त्यो भन्छ नै
हेर्दैमा उ कति युवा भइसक्यो मिल्दैन हामिसग
छाडौ संगत गर्न यो अब भयो हासमा बकुल्ला रंग
भन्दै पन्छिन खोज्दछन म गरु के के दोष मेरो हुनु
हेर्छु यो अनुहार तै पनि संधै ऐनासंगै के रुनु
माथिल्लो ग्रुपमा गई मिलू भने ति दाज्यु लायक हरु
यो फुच्चे कतिको भयो अब ठुलो भन्ठानछ रे के गरु
सिक्दैछु म पनि बुझी बुझी कुरा प्वाक्कै फुटी आउने
बोल्यो केहि भने ल हेर कति भनि जान्नेको दोष लाउने
माथि मिल्न पनि म सक्दिन हरे जुंगा मुसार्छन सबै
रेखी मात्र पनि म भेट्दिन कहिँ आफुमहा काँ छ खै
यो बिचको बय भो यता न कि उता दुवै तरफ हेपिने
खेलमा यो हविगत छ हेर घरमा लाठे भनि चेपिने
दिक्कै लाग्छ बिताउ दिन म कसरी झन पाठशालातिर
ठुलोमा गनिइ सजाय गुरुले ठुलै दिदा झन पिर
ठिकै हो कि भनि बिचार गरदै बोल्दा बढी हुन्छ रे
बोल्नै छाडी बसेर चुप्प रहंदा यो मन हुने चन्चले
ओठ मेरो उही हो शरीर यहि हो स्वरमा भयो के बरु
धोत्रे भो भनि भन्दछन सब जना अर्को छ यौटा अरु
यो बेला कि उमेर उक्लन सिढी सम्मान खै पाइने
बर्षे चौध बिचित्र जन्तु सबमा उसकै ब्यथा गाइने
आफै हेरी बुझेर त्यो शरीरको देखि परिवर्तन
मन आफ्नो स्थिर राखी व्यर्थ झुसको न गर्नु है कर्तन

यसरी जन्मिएँ म


by Chacha Bihangam on Monday, July 18, 2011 at 10:13am
जन्म दिनको शुभ कामना व्यक्त गर्नु हुने तथा अभिव्यक्तिको संगै कति बर्ष ? भनेर जिज्ञासा राख्नु हुने समस्त शुभेक्छुक
हरुमा धन्यबाद सहित जन्मदाको घटना बर्णन गरि यो कविता पस्केको छु / के कस्तो लाग्छ , बर्ष छुट्टयाउने अभिभारा
पाठक हरुमै / अभिबादन !
बस्थें हात पछाडी पारि शिरमा घुंडा अगाडी पटि
खुट्टा दोब्रिन गै रह्यो डुबी डुबी त्यो ब्रह्म रसमा कटि
यस्तो गर्भको सालनाल बिचमा सास फेर्न धौ धौ थियो
नौमैना कति दिन बित्यो अनि शरीर खोज्दैथ्यो बाटो चियो
हलचल मच्चिन गो सर्याक् सुरुक भै थैलो निचर्यो पनि
आमा कस्ट महा कति सहनु भो था छैन के भो भनि
कैले माथि पटि घुमेर शिर यो तैरंछ छट्पट भई
कैले घोप्टिन जान्छु द्वारतिर नै हुत्तिन्छ झटपट गई
सोधु सोधु मलाइ लाग्छ मनमा आमा कति भो दुख
कैले निस्कन सक्छु बाहिर त्यहा लौ हेर्न तिम्रो मुख
भन्दै सोची गुमाई होश कहिले कुरा संगाल्दै थिए
व्हात्तै के कसरी ठुलो झटकले संसारमा ओर्लिए
घटना यो परिवारमा हुन गयो पण्डित रुपाखेतीको
पैरेको घरमा पिताश्री, जननी ति केशबी मात्रीको
श्रावन एक गते नक्षत्र गतिलो चित्रापछिल्लो पद
स्वातिको संगमा मिलेर दुइमा राशि तुला भो अब
बिक्रम सम्बत बर्ष बाकि दुइ भै पुगेन हज्जार दुइ
जन्मियो शुभ दिन छ नाम दिउ के भन्दै दिनु भो मुइ
रामको नाम संधै बनेर प्रिय झैँ कनिष्ठ यो झन् प्रिये
आएको दश गर्भमा अति असल नाम् राम होस् है श्रिये
भन्दै नामकरण गरेर बिधिबत दानपुण्य आदि गरि
मायाले खुशीले कनिष्ट म हुँदा कान्छो भएँ घरभरि
धन्यबाद !

संस्मरण भानुको !

संस्मरण भानुको !
by Chacha Bihangam on Wednesday, July 13, 2011 at 8:31am
भानुको शुभ जन्म आज दिन यो टक्र्याउ सौगात के !
काहाबाट जुटाउ घासी र कुवा कंक्रिट बन्यो देश हे !
खुर्पा डाली र ढाकरी र हसिया कुवा सबै मासिए
डोकोमा कुखुरा र गुन्द्री संग भै सबै विदेश भासिए
घासीको उपदेश अर्ति प्रतिकूल बसमा पकेट मार्दछन
मालका हाकिम न्यायका रचयिता पाकेट नै झार्दछन
आँखामा हरिया सुकोमल बनै फाडी सखापै भए
तित्रा कालिज बास बस्न न सकी मान्छेको पेटमा गए
गाई पालनका पिंढी र ढिकीमा कोदो र मर्चा हरु
किन्दै ल्याई बिसाई मद्य मदिरा सिद्रा थुपारे अरु
बालाजु अब छैन यो नजरमा जस्तो पहिले थियो
घुइंचो मानिसको र वाक्क तिनका फोहोरले ठाउ लियो
सिस्नु घारी कतै छ बन्द परखाल कतै छ बाटे-पसल
फुल्थे ति गुन केशरी अब कहा पाउनु कति थे असल
नेपालि अबला पनि अब सबै बम्बै गई बस्दछ्न
लुच्चा चोर हरु घुमी घुमी सधै भन्सार छली पस्दछन
जाउ जुन घरमा सबै घरभरि सोती बुढी बस्दछिन
चिप्लो घस्नु घसेर रात बिचमा पाता कति कस्दछिन
भो भो हेर्नु परेन कान्तिपुरी यो नरक पुरीमा छ है
लम्जुंगको दहि दूध नौनी अब ता न्युरोडमा बस्छ गै
कोशिस गर्छु तथापि त्यो समयको तिम्रो अनुरागको
सम्झन्छु तिमीलाई आज म कति आफ्नो जति भागको
आऊ आऊ सधै बसूँ तिमि संगै यो मन संधै खोज्छ नै
भाकामा लयमा र ताल सुरमा तिम्रै तरफ रोज्छ नै
औंजुली एक घासको र जल त्यो खोची दुनामा भरि
बरको शीतल फेदमा बसी तिमि कनै म आउला मरि
असार २९ ,२०६८

असारे गीत ( असार १५ )


by Chacha Bihangam on Monday, June 27, 2011 at 7:49am
कृषि प्रधान देशमा बेला बखतको कृषि कर्म गर्दा विभिन्न मनोरन्जनात्मक कार्यहरु संगै काम सम्पादन गरिन्छ / यसै क्रममा असार १५ पनि यौटा हो र यो दिन धान रोप्दा बढी उपज हुन्छ भन्ने बिस्वास गरिन्छ/ बाजा बजाएर (बेठी हाल्ने) यौटा परम्परा हो भने आलिमा बसेर युवाहरु गित, जुहारी गाउदै मनोरंजन गर्न पछी पर्दैनन् /यहासम्म कि जुहारीमा हारेपछि केटीले जित्ने केटालाई आफ्नो पति बरण गर्नु पर्ने समेत प्रथा छ कहि कहि पुर्ब शर्त अनुसार /कहलियका गायिका रोपारहरू लाइ बढी ज्यालामा निम्त्याइन्थ्यो पनि पहिले पहिले /
यो असारे गीतको लय बेग्लै हुन्छ र जति सक्यो उति लामो भाकामा गाइनु पर्छ अनि गालामा हात राख्नु पनि जरुरि छ/

आज आउनुहोस त यो यौटा चाचाको असारे गित खेतको आलिमा बसेर गालामा हात राखेर गाउँ है /

चाहाड़ पर्बभरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ.....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई....

चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना ......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना ......

हलो जुवा काँधमा रिट्ठे माले बाँधमा हली गोरु दुइजना
कान्छी दैलो पोत्ने बाँझो पल्टाई जोत्ने ब्याड़े बाउसे दुइजना

रोपारको ताँती पछी लाग्यो नाति आली ताछ्ने दुइजना
डोकोनाम्लो बिसाई घाँटो नुन्चुक मिसाई खाजा बाड्ने दुइजना

येस्पालिको रोपाइँ पानि न पर्नाले मुहान् बाँध्ने दुइजना
कुलो काटी काटी डोरी नाम्लो बाटी डोको बोक्ने दुइजना

देशी मलको बोरा बोकी आयो छोरा खेतमा छर्ने दुइजना
मैना चरी बोल्यो गंगटाले खोल्यो आली थुन्ने दुइजना

बिउको मुठा फाल ठुटो चुरोट बाल सुर्ती माड्ने दुइजना
टुप्पो भान्च्यो फाली नाच्न थालि शालि गीत गाउने दुइजना

गोठालो छन् बाउ खाजा थाप्न आऊ पानि सार दुइजना
ठेकीमा छ मोही डबकाहरु खोइ दुना गाँस दुइजना

दहि च्युरा खाजा जिम्मल गाउको राजा आउरेबाउरे दुइजना
भोटो भिज्यो छाती कछाड माथि माथि छाता ओढाउ दुइजना


खाजा थाप पोल्टो किन फर्क्यौ कोल्टो गोरु फुकाउ दुइजना
पुवा खाजा बाको चिनी थोरै भाको हात्मा थाप्ने दुइजना


चेचेले भन्यो लौ बाचेले सुन्यो चेचे बाचे दुइजना.......
चेचे लाउछ मित बाचे गाउछ गित चेचे बाचे दुइजना.......

चाहाड़पर्ब भरि भाका थरिथरि यो गीत् असार पन्ध्रलाइ....
खेत्रोप्न जाउँ आउनोस् लय हाली गाउनोस् सम्झी रामचन्द्रलाई ...

२७ जुन २०११,
भर्जिनिया.