Friday, March 1, 2013

यो देश

गीतिका छन्द (५, ५ मा बिश्राम)


बिस्वको यौटा कुनामा रमणीय भनि आकर्षित यो देश
सुनेर नाम नेपाली सदभाबले हुने हर्षित यो देश

पहिरन बोलि भाषामा अनि बिबिधता अनेकतामा
फुलेका चार जात छत्तिस बर्णले भयो चर्चित यो देश

गोर्खाली नामले चौडा छाती हल्लन्थे शत्रुका थरथरी
भिक्टोरियाक्रस उछिन्दा बिस्वले मानेको गर्वित यो देश

पन्छाई काँडा र सिस्नो सजाईएको फुलबारी शहिदले
भत्काई भताभुङ्ग अघि सर्ने यी नेताले ग्रसित यो देश

हेरेर बादर नाचको आनन्द लिन बाध्य छन् नेपाली
स्वार्थपनले घमण्डी भै सुयोग्य नेतृत्वले बर्जित यो देश

Sunday, January 27, 2013

सम्झी बाटो मन भ्रमणमा पुग्छ ''नेपालगंज''

.घरको आँगन बसेरै कति दिन कुरौ मात्र आलस्य बढ्छ
जाडो चीसो शरद हृतु यो जिर्ण भो देह ढल्छ
सम्झन्छु लौ बिगत बय कसरी घुम्दथ्यो देश कुञ्ज
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

राउटे जुम्ली र हुम्ली बिबिध रुपका देखिने यत्र तत्र
कोहि चर्चका पुजारी अनि मसजिदका बोलवाला ति भद्र
दक्षिणका छन् छिमेकी बहुरूप तिनको भीड व्यापार बन्द
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

हुस्सु टम्मै पर पर क्षितिजमा पंख आफ्नै फिजाई
ढाकी बस्ने सिरकसरि त्यो दूर दृस्टी समाई
टाँगा रिक्सा अनि बयल सबार ''नानपारा'' तु. भन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

थालि बोकी पुजाका गृहिणीहरु कति पूर्वमा सूर्य ताक्ने
जोडी जोडी बनेरै भगबती भनि कल्पना भित्र भाक्ने
यात्रु गन्तब्य खोज्दै हतपत गरि ट्याक्सीको मुल्य खन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

सब्जी मन्डि उ आफ्नै परिसर महा गर्वको हाँक दिन्छ
ताजा ताजा भनेरै कति दिनपछिको बिक्रीमा आलु किन्छ
कालिकोटे र हुम्ली मुगु तिर बसने यात्रु दैलेख जान्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

बाँके सुर्खेत पस्दा अझ सरल भनी साथीलाई उ भन्छ
नेपालीको मन मुटु निरको देबी बागेस्वरी छ
खुद्रा ब्यापारी सबको पसल जिबिका स्रोतको ठाउ बन्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

पाहाडीको मधेश् यो नुन मरमसला तेल लत्ता र बस्त्र
स्याउ आलु र जिम्मु हिङ्ग र घिउ पनि अन्त जादैन नत्र
भोको कत्ति शयनको कुरी कुरी निशा बागीटोला उ जान्छ
बाटो लाग्यो मन भ्रमणमा सम्झी ''नेपालगंज''

पस्चिमान्चल भनेरै बिकसित हुदा देशको मूल्य बढ्ने
शक्ति केन्द्रीकरण पनि छ रे राजधानी न छाड्ने
नारा घंक्यो समुचित बिकाश क्षेत्र क्षेत्रैमा दङ्ग
सम्झी बाटो मन भ्रमणमा पुग्छ ''नेपालगंज''



तब सुप्रभातम नब बर्ष !

सन ईशबीय निहिते धन धान्य पूर्णों

कल्याण लोक हितये नब बर्ष पुंस !
बिस्थापितम् लोक त्वया पुनीता
पस्याम बिघ्न रहितो तब सुप्रभातम !
2
चराचरो यत्र इदम् प्रिथिब्याम्
बिसीदते क्लेशयुतो $धुनास्ति !
बयम् नमाम युगलम् करबद्ध निस्प्रिहो
प्रयच्छ शान्तिम् तब सुप्रभातम !
3
पदार्पणे यस्य च राजनीतिम्
सम्बाद हेतौ बिपुला भबन्तु !
तथैब नेतृत्व च बिद्यमाने
सुकर्मयुक्ते तब सुप्रभातम !

Happy 2013 !

गजल: बगेको खोला




बार्हौ पुस्ता गरि राज्य शाहवंश बिलीन भो

सत्ताबाहिर गै खाने भत्ता अंश बिलीन भो
.
प्रजाको हितको लागि दूध पानि अलग गरि
नसकी, न्यायको शासन गर्ने हंस बिलीन भो
.
असन्तोष र चाप्लूसी अविस्वास अदक्षता
हतियार अघि सार्ने द्रब्यदंश बिलीन भो
.
सुखी राज्य खुसि राजा प्रजाको हित मार्गमा
बाटो छाडी अनायासै हुने ध्वंस बिलीन भो
.
शकुनी खेल खेलेर सत्ता लोलुप भै जुधी
कृस्ण को टाउको खोज्ने अर्को कंस बिलीन भो !









Wednesday, October 24, 2012

चक्षु

यो पक्कै छ भनेर बेद र पुराण भन्छन जुनी फेरिनु

चौरासी नर, कीट यावत पतंग आदि भई जेलिनु

मुक्क्तिको पनि ता उपाय जसरी पाइन्छ बाटो चिने

खोज्दा मिल्दछ मोक्ष फेरी त्यसले पर्दैन जन्मी लिने

आत्म ग्यान मिले तरिन्छ सहजै संसार सागर पनि

पारि स्वर्ग छ त्यो कठिन छ मिलनु भेटेर बाटो खनि

ब्रह्मज्ञानी हरु गए जति सबै थिए ति विस्वासम
त्यागि भोग यी बासना विषयका घरबार निस्वासमा

बग्छिन त्यो हिमशैलबाट जसरी नदी कठिन मार्गमा

पत्थर काटी जमिन फोरी गतिले पुरेर त्यो गर्तमा

पानीको कण त्यो पुगेर सहजै मिल्नेछ सागरमहा

सागर भेट्न कठिन हुदा गति नभै रोकिन्न रोकी त्यहा

पानीको कण त्यो बिलिन हुन गै नदी पनि मुक्त भो

त्यस्तै यो भब बाट मुक्ति मिलने सागर सरि स्वर्ग हो

मानौ देह नदि समान छ भनि आत्मा बुझौ नीरवत्

आत्मा जान्छ उडेर मिल्न नभमा त्यो देह ता मूढबत्

अर्को यो उपमा म भन्छु कसरी आकाश यो बाँडियो

छुट्टै सानु खडा अकाश हुन गो घैटो रुपी देहको

घैटोको अबसान निश्चित हुदा आकाश भयो सम्म लौ

आत्मा ब्रह्म समान एक हुन गै अलग रह्यो देह लौ

जसले यो गृह बासनादी सुखभोग त्यागेर चित्तै धरि

लाग्ला चक्षु उघारी मोक्ष्य पथमा तर्नेछ त्यो त्यस घरि

चिन्ता यो मनमा तसर्थ न लिनु हुनु थियो जे भयो

जसको सम्पति हो उसै संग रही साथ्मा संगै मिल्न गो

म्याँ म्याँ गर्दै उसले भन्यो !

जन्मिएँ घरको पिंढी ढिकी संगै जाँतो र टाटनो त्यहाँ
आमा बूढी थिइन् र नत्र त भने मिल्थ्यो र खोले कहाँ

पाठो हुन्छ कि पाठी हुन्छ भन लौ,लौ बाजी राखौ भनि
दिदि संग उ भाई कचकच गरि थापे नि बाजी पनि

दिदि भंदथिइन् म लिन्छु अहिले पेवा सरि पाठी नै
जन्मिन्छे यसपाली भाइ किन हो तँ जिद्दी गर्छस् न गै

भाइ त्यो बिचरा कुरिकन बस्यो पाठो भएमा कहिँ
मेरो इसकुलको छ बाँकी जति फि तिर्नेछु ऐले यहीँ

यस्तो बाद विवाद को बिच महा जन्मे म हु के कता
मेरो लक्ष्य भबिष्य के छ ? उनमा, पाठै भएछु म ता

त्यो घरमा जति मान पुत्रनरको खुशी भई गर्दथे
मेरो जन्म हुदा उसै गरि सबै खुशी भए हर्षले

आमाको दुध शायदै अरु म झैँ के खान पाउथे कठै
इस्कूल्को फिस तिर्नु पर्दछ भनि न दोई छाड्थे सबै

आमालाई पनि भरेंग मुनि लगी लाग्ला कि चिसो भनि
मेरो बास त झन अंगेनु डिलमा हुर्के म थांगना गनी

काखैमा म त हुर्किए कति मिठो तातो र न्यानो लिई
पोशे बाबु सगै सुतें कति कति आनन्दले मन दिई

बार्तालाप गरे दशैं भनि दशैं मुखमा सबैको कुरा
सुन्छु देख्छु अति मुहार हसिलो घरमा सबैको पुरा

बाबु भन्छ उ हाउ भाउ गरदै कापी कलम चाहिने
फेरी हेर्छ मलाइ दृस्टी रसिलो माया अझै पाइने

त्यो को हो घरमा नया छ अनुहार बोक्दै उचाल्दै गरि
सर्को तान्छ उतै धुवाँ फुकी फुकी चुरोट को स्वाद भरि

यस्तैमा उसले गन्यो कति कति कागत फुकाई बिटो
डोरी छाडिदिए समाउन पुग्यो गर्धन मलाइ छिटो

आमा ति ढिकीमा म फर्किन भनि बाटो कुरी बस्दछिन
अश्रुपूर्ण छ नेत्र पीर मनमा बोकेर गूंड पस्दछिन्

म्याँ म्याँ शब्द गरेर घिच्चिन पुगें घरको पछाडी जुट
हे हे दैब उडे सबै ति सपना सर्वस्व मेरो लुटे

पानी भक भक उम्लदो छ खुकुरी देख्छु चमाचम त्यहाँ
मनमा खुल्दुली चल्छ सोच्छु मनमा दाज्यै हरायो कहाँ

ताउलो किन हो म बुझ्दिन त्यहा हासी रहेका सबै
पानी छ्यापी सिदूर फूल हरुले सिगार्न थाले नि है

आँखा चिम्म गरेँ चिसो जिउ भयो खुट्टा पनि अल्झियो
डरले कामिरहें म लुगलुग गरि मुटु पनि हल्लियो

मैं जस्तो गरि जन्मिए शरीर त्यो आफ्नो भने दुख्छ रे
मेरो गर्धनमा बजारी तरबार भन्छन कलिलै छ रे

हे मनुष्य ! भन्दै उ भन्छ कि :-

मृत्यु दण्ड दियौ आज न साधि अपराध यो !
बनायौ छागको साग छदैछ भोग पाप त्यो !!



.



बिना दोष अकारणमा भत्कायौ नवजीवन !



तिम्रो स्थान कहा होला स्वर्ग वा नर्क लौ भन !!

यसपालिको दशैं र ''झ्यामोलोंग्मा'' !

दशैं आयो दशैं आयो शुभ शन्देस प्राप्त भो




नेपालीहरुको चाड पर्बले हर्ष व्याप्त भो



`



दाजु भाइ दिदी बैनी नेपालि सब एक हो



तर यो राज्यमा हल्ला फूट पो यत्र तत्र गो



`



इतिहास जता बाट जसरी गर बर्णन



नेपालि एकता शान देखा पर्दछ है भन



`



जाति जात बिषे बाधी भाचेर एक संस्कृति



शुरुआत गर्यो कस्ले गणतन्त्रे मनोवृति



`



सफा सुग्घर माटोले पोतेर पिंढी आँगन



पखालि मनको मैलो थाल्छन आशिष माँगन



`



सम्मान वृद्धको गर्नु भाइचारा बढाउनु



सदभाब एक आपसमा वैमनस्य हटाउनु



`



ध्येय हो चाडको हेर किन उत्तर क्षेत्रमा



तहल्का मच्चियो आज फुट ल्याउन मित्रमा



`



म ठुलो छु तँ सानो होस् भन्न के ढाल हो र यो



मुहानबाट झर्दाको कति शुद्ध छ पानि त्यो



`



विभाजन् भेदले हुन्छ मतैक्य पुस्ठी हो त्यहाँ



साझा चाड सबैको हो मतभिन्न भयो कहा ?



`



गरौ बिरोध हिंसाको प्राणीमा प्राण त्यो बसोस्



समता ममता भाब मनभित्र दया पसोस



`



पुर्खाको पिंढी ले कत्रो सम्मान दिई फूल त्यो



साँचेर जन आस्थामा भिजाए मनभित्र यो



`



फालौ म कसरी आज लान्छना जातमा दिई



बरु राख्छु हनुमान ढोकाको द्वारमा लिई



`



धार्मिक असहिष्णु भै जमरा न पचाउने



षड्यन्त्र यो म गर्दिन सार्बभौम डगाउने



`



भन्न छाडौ दशैं यसको ल्होसार उसको भनि



"झ्यामोलोंग्मा" सगरमाथा नाम हो बिस्वको पनि

Sunday, September 9, 2012

यिनी हरु ?

गाडी चद्छ्न टोयोटा अल्टिमा




यौटा पैसो हुँदैन खल्तीमा



शिर सँधै निउरिन्छ गल्तीमा



उनकै धाक जमाउछ्न चल्तीमा



=



छिद्र पाए प्वाल पारि खोतल्छन



कोठाभरी मिल्केका बोतल छन्



गोप्य कुरा पैसामा ओकल्छन



मुखले मात्र ठिक पारि टोपल्छन



=



आफ्नो स्वार्थ सबभन्दा माथि छ



चाचुचा नै हितकों साथि छ



सेक्रेटरी मित्बाउको नाति छ



जनता भन्दा आफ्नैलाई जाति छ



=



कमिशन भेटेमा ठुल्ठुलो



पानी बिना खनाउछन् कुलो



देशको हित पैतालकों धुलो



यिनकै घरमा चौरासी छन् चुलो

Thursday, August 23, 2012

तारे माम् श्रीकृष्ण !!




कलकल सलल सतह गामिनी



सलिल अनुरुप तरल बाहिनी



नजर अनुकुल ह्रिदय मोहिनी



भ्रबर मधुसुत सरस दोहिनी



(1)



लबण प्रतिरुप सागर यामिनी



चकोर बुभुक्षित प्रेयसी कामिनी



मधुर आलापित संगीत संगिनी



मालती सहचर सहज अंगिनी



(2)



बृहत धनुर्धर सुराघब शालिनी



जनक दुहितरी करुण भाषीणी



अजर अमर सुबैभब धारिणी



चरण शिरोपर पादुक तारिणी



(3)



जमुना तट पर साथ सुदामा



किशनचरित्तर कह्लायो नाना



असुर बिनाश गर्यो सब केतु



कृष्ण चरण मात्र विहंगम हेतु



(4)



शोडश शत गोपिनी पदयौबना



मदभोग लोलुप बंशिधर शोभना



जनम जनम कलुषनिवारण सेतु



कृष्ण चरण एक विहंगम हेतु

लौ है पर्यो!!







असंगति विसंगति हटाउनु पर्यो


न चाहिदो गर्नेलाई ठटाउनु पर्यो



(१)



उद्योगीको हातमा छ नानाथरी सिप



वाहियात फाल्तु खर्च घटाउनु पर्यो



(२)



जांच बुझ गर्ने पर्छ दोषी पत्ता लाउन



न्यायप्रेमी स्वाभिमानी खटाउनु पर्यो



(३)



कामचोर कुर्शिप्रेमी घुषखोरी लाइ



न फर्किने गरि डाडा कटाउनु पर्यो



(४)



गन्तब्य को दिशा बोध प्रस्ट हुने गरि



चाचाको यो मन्त्र पनि रटाउनु पर्यो



(५)

Thursday, August 2, 2012

डोरो बाधौ !





बाधौ चार दिशा र स्तम्भ सुद्रीढी- करण गरौ साधको
आफ्नो पानि थुनेर राखी तटमा रेखा लगाउ बाँधको

नेताका मन तन्त्र स्वार्थ पनि सब बाँधौ मनोडोरिले
गाँठो त्यो बलियो बनाउन सके फुक्दैन त्यो चोरीले

बाधिदेऊ गुरु ! प्रचण्ड बिरको नाडी नशा हातको
डोरो देश बचाउने तिर बढोस भनि जनै साथको

बाचा मन्त्र गराई फोर्दीन भनि यो देश टुक्रा गरी
मंत्रेको उपबीत फेरी दिनुहोस अकाट्य मंत्रै गरि

बाँकी देश निबासी भाइ बहिनि साझा सबैको छ नै
प्रतिज्ञा प्रतिबद्ध गर्न मनमा लागोस पुरानो जनै

मनमा सुत्र सम्हाली राखनु हवस जो देहमा छैनता
आस्था बाची रहोस संस्कृति प्रति अकाट्य सौहार्द्रता

आस्था मन्त्र र संस्कृति अनि अरु जनै र डोरोहरु
पाकोस् देश रुपी कसौडी बिचमा व्यंजन थपियोस अरु

मेरो मात्र भनेर भन्न न मिलोस यो चाड हो देशको
बाडिदैन चुडेर जातिहरुमा श्री सम्पति येसको !!

फेसबुकमा भानुभक्त समझदा !




.एकदिन फेसबुके विहंगम पनि बालाजु हेरनै पुग्याँ



ब्रह्माले कसरि रचेछन भनि मनमा खुशी झन् भयाँ







क्या देख्याँ त्यसको बयान म गरु ति भानुले क्या लिख्या



तिन्का कान्तिपुरी रहेन अहिल्या किताबमा जे पढ्या







बाटोका छेउछाउ थिया ईंट हरु थुप्रा थिया बालुवा



गाडीबाट धुवा निकाली रुखका छोपी दिया पालुवा







बसको भिड र ताती यात्रुहरुको उठाई हात् रोकन्या



पांग्रा चालु छ तैपनि क्लिनरले चढाउनै खोजन्या







बाटोमा ति पसल सबै छरी बस्या सामानहरु बेचन्या



भानुको चपलाहरु हरु पनि त्यहा पुरुष हरु खेदन्या







जाडो गर्मि समान एक ऋतु झैँ दुधे मकै पोलन्या



भाषा भाषी अनेक थरि भिड गर्या छुट्टै बचन बोलन्या







येक्सुरे अबला हरु पनि कता बिना सखी क्या गर्या



शिरमाथि तिनका सुबास गुन केसरि नि वैली झर्या







तिम्रा कान्तिपुरी बिलाई नदीमा सुखा भया बाग्मति



हाडिगाउ र त्यो प्रचण्ड पुरमा सर्या अमराबति







बाँकी केछ भनेर तत्व बुझदा तिम्रा संगी बाकि छन्



लामखुट्टे उपिया उडुस र अरु छाडी गएछौ नि झन्







यो चाचा बसी छेउमा सडकको हेर्दै रमीता बस्या



बसकामाथि थिया असिजति जना झन्डै भुइमा खस्या

Thursday, July 5, 2012

Happy father's day !!!( Guess who?)

Happy father's day !!!( Guess who?)



चुच्चो नाक सफा निधार छ ठुलो चिउड़ो छ गोलकाक्री झैँ !
रेखा तीन निधारमा त्रिपुट का दौडीन्छ तेर्सिकनै        ! !          

गाला पुष्ठ अलि अलि तर उमेर पाको भएको भनक् !
आँखा खाडल भित्र छन चहकिला छन द्रिस्टिका ति जनक   !!

मन्मा लिन्छ दया र श्रिस्टीहरुमा साख्खै सहोदर सरि !
आस्था कर्मप्रति सुकर्म छ जता बिस्वास त्यसमा धरि   !!      

सादा भेषभुषा छ सात्विक रहन सहन सदाचारिकै !
कर्मठ उच्च विचारयुक्त सबको हितमा बचनधारि भै    !!       

पुजा पाठ र कर्म काण्ड जति छन हवन् र बेदाध्ययन् !
गर्दै पाठ पढेर शैशब बित्यो युवा भयो स्कूल झन्   !!

ऐले उ पति हो पिता पनि उहि सम्धी ससुरो पनि !
आशिर्बाद लिएर झुक्छ सबमा कल्याण होस् लौ भनि !!

छोरा नाति भकारी टन्न भरि छन् धन्सार सम्पत्ति है !
ठ्याक्कै चिन्नु र राख्नु साँची मनमा पर्दैन कान् फुक्न गै !!





ढाडे बिरालो




.
जात, नाम बिरालै हो साथि संगत छोड्दछ
मिलेर बस्न मान्दैन तर त्यो बंश जोड्दछ
 (1)

डुल्छ, खान्छ घुमी मस्त घरमा हुन्न साथमा
श्रिस्ठीको कामना गर्छ देखा पर्दछ रातमा
(2)

दूध चोर्न सिपालु त्यो खुलै झ्याल हुदा खति
भेटमा हमला गर्छ निमोठी मार्छ सन्तति
(3)

झुल्किन्छ कहिले काही स्वर म्याउ ठुलो गरि
कलिला गुडका बच्चा खोसेर खान्छ पेटभरि
(4)

छुट्टयाउन उ जान्दैन न्याय के हो छ के उचित
नेता नेपालका यस्तै दर्जामा छन् अनुसुचित
(5)

कुनै ढाडे बिरालो झैँ ढ्यांग्रो ठोक्ला स्वभावमा
साबधान सबै होउँ भोट माग्लान चुनाबमा !
(6)
फेरी हुन्छ अरे भन्छन यही उनकै दबाबमा
उल्टो लोप्पा ठिकै पर्ला भोट मागे चुनाबमा !
(7)

Wednesday, June 6, 2012

अब पालो हाम्रो !




आउ बन्द गरौ मिलेर सबले जातीय संकीर्णता
आउ बन्द गरौ भिडेर मनले कुरूप अज्ञानता
                                   (1)

लौ है बन्द गरौ खुलेर दिनदिन रिति कुरीति प्रथा
पन्था बन्द गरेर खप्न न हुने चर्काउनु के ब्यथा
                                    (2)
जाऔ बन्द गरौँ घमण्ड शिरको नेताहरुको त्यहाँ
ढोका बन्द गरौ बिदेशी हरुको दलाल घुस्ने यहा
                                    (3)

नाका बन्द गरौ छिमेकीहरुको मुलूकको क्षेपता
यात्रा बन्द गरेर मात्र कसरि हट्नेछ बेमेलता
                                     (4)

बन्दै बन्द गरौ मुटाव मनको भाइहरुको मिलि
लौ है बन्द गरौ विद्वेष रिसको आफुस्वयम् ले खुली
                                      (5)

रोकौ साथ मिलेर जात छुतको भेदभाव गर्ने कथा
यातायात गरेर बन्द सबको चर्काउनु के ब्यथा
                                       (6)
बन्दै गर्नु छ अन्धकार गर लौ देशको अशिक्ष्या मुल
रोक्नै पर्छ बे-रोजगार एकदिन रोपेर ज्योति फुल
                                       (7)

आउ बन्द गरौ न फर्क न पछी बढ्नेछ त्यो एकता
देशै बन्द गरेर मात्र कसरि हट्नेछ नैराश्यता
                                        (8)

Monday, April 16, 2012

शुभ शकुन होस

आउदै जादै ऋतुहरु घुमी कोइली डाक्छे बसन्त

पारि पारि गहन क्षितिजमा बज्न खोज्दैछ घन्ट

बेला आयो नब बरसको कामनायुक्त कण्ठ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

1

लालाबाला सहित तनया बन्धु बांधब सखादी

राख्दै ईच्छा नबनित सदा बर्ष हर्नेछ ब्याधि

शान्ति छावोस वरिपरी सबमा बर्ष होस् साधु सन्त

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ

2

साच्चै यौटा गहन छ कुरा बर्षको स्वाभिमान

के हो के हो कसरी यसले दिन्छ रे संबिधान ?

जे होस् देवोस जनहित हुने राज्यको मूलग्रंथ

भूरी भूरी शुभ शकुन होस दिब्य आबाज भन्छ !

3

Happy New Sambtsr.2069.

संबिधान ?

·

छिप्पियो नभमा घाम गृष्मको राज्य फैलियो

आधा काम अझै बाकि छ जाँगर किन वैलियो

पिठो पानि पिठो पानी झन् झन् हुन्छ गीलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/१/



ठेक्का अशान्ति बिद्रोह बाट डिग्री लिदा पनि

कुकर्मी हरुकै हात सत्ता आसीन यो छ नि

बिश्वास गर्न हुन्थेन मुटुमा थ्यो कीलो जब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/२/



आशै आश दिलाउछन् प्याला बिष पिलाउछन्

भित्र भित्रै रची खेल धारे हात मिलाउछन्

लौ न जातिबिषे देश टुक्रा बन्ला जिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/३/



शान यो देशको माटो विश्वमा मग्मगाउथ्यो

गोर्खाली नाम सुन्दैमा संसार डगमगाउथ्यो

हेर पानि कति फेर्छन् मात्र हुन्छ हिलो तब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/४/



मुटुमा घाउ चर्काई मलम नाटक गर्दछन्

भकारी देशको भाँची नातामा लगि भर्दछन्

घाँडो मात्र भएनन् यी अप्ठ्यारोका पिलो सब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/५/



के हामीमा नया नीति नया देश बनाउन

छैन तागत कोहीमा ? घोक्रे ठ्याक लगाउन

बेतको लठ्ठीले मात्रै हुन्छन् थिल थिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/६/



न दिएको पनि हैन देशले भक्त नायक

न्यूनता सम्म खोसेर धपाए सब लायक

खोजौ सब मिलि हामी पाइन्छ कि सिलो अब

संबिधान ? डढ्यो ताउ लौ न हुन्छ ढीलो अब !/७/

बिद्रोह

के भो आज असह्य यो मन भयो बिद्रोह पैदा भयो

शान्ति चैन हराई कस्ठ हुन गो चिन्ता बढी नै रह्यो



राजाकी म थिए कति प्रिय म छु मेरो तिरस्कारले

दिन्छन राज्य ति रामलाई कसरी मेरो बहिस्कारले



यो सक्दैन पुरा हुनेछ कसरी भरत छ लायक अति

मेरो हुन्छ कदर यो राज्य भरिमा सेबा म गर्छु कति



भन्दै छटपटिइन सुनी खवर त्यो कु-मन्थरा दासीको

ठुलो आंधी शुरु भयो मनमनै ति गद्दीका प्यासीको



खोपीभित्र पसिन र आसन कसिन त्यो उग्र चण्डी रुप

खलबल पारी सिंगार,केश पहिले टिका बिगारिन खुब



गाजल लत्पतियो चुरा पनि फुट्यो पर्दा पनि च्यातियो

पोखिन पानि भिजाई खोल तकिया त्यो मन अझै मातियो



बौलाही सरि भै ति कैकयी बसिन् थुन्दै चुकुल द्वारको

भन्छिन लौ ठिक भो तँ जा खवर लि हे मन्थरा प्यारको



राजा छेउ गएर बिन्ति गरिदे यो हाल मेरो अब

फर्की आउनु एकलै तँ पहिले उत्तर म सुन्छु सब



भन्दै कैकयिले बुझाई यी कुरा ति मन्थराको मन

आफ्नो मत्लब सिद्द्ध गर्न प्रतिरोध् पठाईन् राजाकन

Happy Ramnabami !!!

लामखुट्टे !

·

ख्याती राम्रो छ सबको जन समुहमा 'लामखुट्टे'' भनेर
छोटा खुट्टा भएमा पनि तिनीहरु कुर्सि तान्छन गनेर

लामा छोटा र दुब्ला कमर मसिना ढाड बांगे कति छन्
चेप्टे नेप्टे र घ्याम्पे सब गरि सदनमा छसये येक ति छन्

सबको यौटै छ ताना रगत अमनले पेट भर्नु चुसेर
उड्नु गुड्नु थुपार्नु दुध चुसी भुईमा भात फ्याक्नु मुछेर

जम्मा हुन्छन तलाउ वरिपरी घुसको बंश कोरल्न भाबि
हुर्कन्छन् प्रौढ बन्छन सिजन पछि तिनै गर्दछन चुस्न दाबि

''मौका'' भन्ने छ दाउ हरघडी मनमा याद गर्दै यी हिडछन्
चाहे होस् घूस बा त्यो कमिशन जिउ बाजी थापेर भिडछन्

पक्कै यो काम राम्रो जनहित हुने हैन राम्रो मुलुकमा
औलो ज्वरका यी श्रस्टा बिकसित न हुन् ''लामखुट्टे'' फजुलमा

घोडे जात्रा रे ?

घोडे जात्रा रे ?
·

थामेकै छु स्वधर्म टाप खुरमा किला र घन् निल्दछु

टाँगामा रथमा र बग्गीहरुमा राजासंगै मिल्दछु /१/



हेर्छौ त्यो इतिहास बेद हरुमा ब्रम्हाण्डको सृस्ठीमा

बाल्मिकिहरुको त यज्ञ विधिमा ती सूर्यको दृष्टिमा /२/



बायु पंखी भएर त्यो गगनमा उडाई तान्दै रथ

आज्ञा पालन गर्छु तत्पर रही गोलि पियाउ कि मथ /३/



चल्ने छैन ती चक्रबर्तिहरुमा यज्ञादी घोडा बिना

यो मेरो पुरुषार्थको प्रतिक हो यै भन्छ मेरो चिना /४/



जात्रा गर्न पनि मनुष्य हरु यी कति थरि जान्दछन्

चारखुट्टे हरुकै गरेर उपहास आनन्द ति मान्दछन् /५/



सोझी छिन ल भनु ती गाई हरु ता जात्रै गरे ता पनि

मेरो लात्ती जवर छ छोड्छु म कहा मेरो छ ईज्जत अनि /६/



लिन्छन् काम म बोक्छु भारि तर के सम्मान पाइन्छ कि

मुखमा कोची लगाम छाती बिचमा काठी पिठ्युमै छ छि: /७/



घोडा रेश भनेर हेर्न रमिता जम्मा भई घेर्दछन्

लाखौ बाजी लगाई निर्बल भए कुद्रीष्टिले हेर्दछन् /८/



भैगो लौ म सहुँ चना एक मुठी परालको के भर

मेरो हुर्मत बग्छ पानी जसरि गधामा फेर्दा थर /९/



हे मानिसहरु हो प्रदत्तप्रकृति घोडा हो तिम्रो धन

घोडाको रिस गर्दछौ किन यहा गरि मनोरंजन /१०/

घोडे जात्रा २०१२ ,